गल्कोट समाजका अध्यक्ष गणेश भण्डारीको मेलबर्नस्थित घरमा आगलागी, जलेर नष्ट


गल्कोट समाजका अध्यक्ष गणेश भण्डारीको मेलबर्न ग्रेटर डान्डिनंगको स्प्रिंगभेलस्थित घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गत सोमबार राति करिब १२ः ३० बजे मैनबत्ति बाल्दा यस्तो घटना भएको बताइएको छ । एमएनटीभीसँग कुरा गर्दै भण्डारीले भने, “त्यस रात हाम्रोमा बत्ति थिएन । बत्तिको लाईन परिवर्तन गर्ने कुरा थियो । त्यसलाई व्यवस्थापन गर्न मेरो श्रीमती थालियाले मैनवत्ति ल्याएकी रहिछन् । त्यसलाई टिभीमाथि राखेर बाल्दा यस्तो हुन गयो ।” बेडरुमबाट सुरु भएको यो आगो देख्नेवित्तिकै उनले छोरीलाई, आफ्नो भाई र आमालाई तत्कालै खबर गरेर जोगाएकी थिइन् । घरको बिमा समेत अघिल्लो महिना मात्रै सकिएको बुझिएको छ । आगलागीलाई नियन्त्रणमा लिन ४ वटा दमकललाई करिब एक घण्टा लागेको थियो । “काउन्सिलले आएर बस्न लायक नभएको बताएर गएको छ । अहिले म काममा जान पनि सकेको छैन । अब बस्ने व्यवस्था मिलाएर शायद काममा जान्छु होला । यस्तो विपत्तिको समयमा नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको सहानुभूतिबाट आफुलाई ऊर्जा प्राप्त भएको भण्डारीले बताएका छन् । धेरैजनाको फोन पनि आइरहेको छ । उहाँहरुले सहयोग पनि गर्नुभयो । अचानक परेको यो विपत्तिमा सहयोग र सहानुभूति नै अहिले मेरो लागि एउटा साहस बनेको छ । पक्कै पनि राम्रो नराम्रो समय सबैको आउँछ, नराम्रो समयपछि राम्रो समय पनि आउँछ भन्ने मलाई पूर्ण विश्वास छ ।” भण्डारीले भने । गणेशकी श्रीमतीले यो दुर्घटनाको लागि ईलेक्ट्रिसिटी कम्पनीलाई दोष दिएकी छिन् । समेभन न्यूजसँग कुरा गर्दै उनले भनिन्, “एउटा कम्पनीबाट अर्को कम्पनीमा ईलेक्ट्रीसिटी स्वीचओभर गर्दा तत्कालै काम नगरिदिएर यस्तो घटना हुन पुग्यो ।” उनले घटना सम्झदै थपिन्, “म र मेरो छोरी बेडरुममा सुतिरहेका थियौं । अचानक टिभी क्याविनेटमा अगलागी भएको देख्यौं । मैले तत्कालै छोरीलाई बोकेर बाहिर ल्याएँ, आमा र भाईलाई पनि उठाएँ र बाहिर निकालें । यति चाँडो आगो फैलियो कि हामीले केही गर्न पनि सकेनौं । घरको केही पनि सामान जोगाउन सकिएन । यतिबेला न त कुनै आईडी छ हामीसँग न त अरु सामान नै । मोटरको साँचो समेत नभएर लकस्मिथलाई बोलाउनुपर्ने अवस्था थियो ।” दमकलका अधिकारी मार्क स्टेफनले मानवीय क्षति नभएको जानकारी दिँदै घटना अत्यन्तै गम्भीर प्रकारको भएको बताए । उनले भने, “ठूलो दुर्घटनाबाट जोगियो ।” यसैबीच, भण्डारीको परिवारलाई सहयोग गर्नका लागि गो फन्डमीमार्फत आह्वान गरिएको छ । तपाईं पनि गणेश र उनको परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा जान सक्नुहुन्छ ।

https://www.gofundme.com/donate-fire-victim-ganesh-bhandari

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?