एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेद्वारी दिने टोनु घोतानेको घोषणा


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका महासचिव टोनु घोतानेले आगामी २०१७/१९ को कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । बिहीबार साँझ मेलबर्नको कोबर्गस्थित बिगबेली एशियन क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् । एनआरएन अष्ट्रेलियाको निर्वाचनको मिति तोकिएको र सदस्यता वितरणको कार्य अन्तिम चरणमा रहेको बेला घोतानेले आफ्नो उम्मेद्वारी घोषणा गर्दै अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई सहयोगका लागि आह्वान गरेका छन् । तीन मुद्दालाई आफुले प्राथमिकताको केन्द्रमा राखेको बताउँदै उनले गैरआवासीय नेपाली संघतर्फ सबैको आकर्षण बढाउने अठोट पनि व्यक्त गरे । उनले भने, “म आईसीसी एप्रोचमा काम गर्नेछु । आईसीसी एप्रोच भनेको ईन्कुसिभनेस, कोलावरेटिभ र कन्सल्टेटिभ ।” तीनवटा मुद्दाबारे स्पष्ट पार्दै घोतानेले भने, “पहिलो अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका अन्य नेपाली सामूदायिक संघसंस्थाहरुसँग सहकार्यलाई अझ घनीभूत बनाउनेछु । दोश्रो, नेपाली समूदायको समस्या र उनीहरुको आवाजलाई अष्ट्रेलियाको स्थानीय र संघीय सरकारको तहसम्म लैजाने भरपर्दो व्यवस्था गर्नेछु । तेश्रोमा एनआरएन अष्ट्रेलियाको आर्थिक गतिविधिहरुलाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउनेछु ।” अष्ट्रेलिया मुख्यतः नेपालीहरु उच्च शिक्षाका लागि आउने गन्तव्य भएका कारण यहाँ आएका विद्यार्थीहरुको हितमा समेत आफुले अहिलेका कार्यक्रमलाई निरन्तरता दिँदै सहभागिता बृद्धिका लागि अभियान सञ्चालन गर्ने उनले सुनाए । आगामी अप्रिल ३० तारिखसम्म सदस्यता लिन आह्वान गर्दै घोतानेले यही मितिसम्म बनेका एनआरएन अष्ट्रेलियाका सदस्यहरुले नै चुनावमा भाग लिन पाउने जानकारी दिए । आगामी कार्यकालका लागि आफ्ना एजेन्डाहरुको पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने पनि घोतानेले जानकारी गराएका छन् । एनआरएन अष्ट्रेलियाले आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतमा कृष्ण हमाललाई चयन गरिसकेको छ भने विभिन्न राज्यमा समेत निर्वाचन समिति बनाइएको छ । सन् २००८ मा स्थापना गरिएको एनआरएन अष्ट्रेलियामा गतवर्ष करिब पाँच हजार सदस्य थिए । संस्थाको अष्ट्रलियाका आठवटै राज्यमा राज्यस्तरीय कमिटीहरु रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?