म्युजिक भिडियोमार्फत पनि अभिनयलाई निरन्तरता दिने सोचमा छु : भीम न्यौपाने


मेलबर्नका ट्राभल व्यवसायी भीम न्यौपानेले म्युजिक भिडियोमार्फत पनि आफ्नो अभिनयलाई निरन्तरता दिने बताएका छन् । हालै रिलिज भएको उनको अभिनय रहेको रामकृष्ण ढकालको स्वरको गीत दुनियाँले घात गरे…  हालै सार्वजनिक भएको थियो । न्हयू बज्राचार्यको संगीतमा सजिएको यो गीतको चर्चा र यसका विषयमा आएका टिप्पणीहरुबाट आफु उत्साही बनेको न्यौपानेले एमएनटीभीलाई बताए । उनले भने, “रामकृष्णजीले यो गीतलाई बनाइदिनुपर्यो भन्नुभयो । यसमा आफैंले अभिनय गर्ने सोच बनाइयो । अहिले यसको प्रतिक्रियाबाट उत्साही बनेको छु । आगामी दिनमा पनि म्युजिक भिडियोमार्फत नेपाली संगीत क्षेत्रमा योगदान गर्ने सोच बनाएको छु ।” यस म्युजिक भिडियोमा न्यौपानेलाई सुचित्रा आचार्यले साथ दिएकी छिन् । अष्ट्रेलियाको मेलबर्नमै यस भिडियोको छायाँकन गरिएको हो । जिन्दगीको उतार चढावमा एउटा मान्छेको साथले कति धेरै फरक पर्दछ भन्ने यथार्थलाई यसमा चित्रण गरिएको छ । दुनियाँ अर्कोतिर भएको बेला पनि त्यो माया र न्यानोपनले मानिसलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहन्छ भन्ने सन्देश यस म्युजिक भिडियोमार्फत दिन निर्देशक जीवन रसाइली सफल भएका छन् । उनलाई सुनिल पराजुलीले साथ दिएका छन् । गत वर्ष बाटो मुनीको फुल २ चलचित्रमा अभिनय समेत गरेका व्यवसायी न्यौपानेले नेपाली कला क्षेत्रको विकासमा आफ्नो निरन्तरको क्रियाशीलताले केही भए पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । “अरु पनि म्युजिक भिडियो खेल्ने सोच बनाएको छु ।” न्यौपानेले बताए । भिडियो म्युजिक नेपालमार्फत रिलिज युट्युबमा रिलिज गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?