उच्च रक्तचापले नवराज सिलवाल अस्पताल भर्ना, अपहरण शैलीमा पक्राउ गरेको दाबी


प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले आफुलाई कुनै पक्राउ पूर्जीविना प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको भन्दै आपत्ति व्यक्त गरेका छन् । दिनभर प्रहरीको नियन्त्रणमा रहेर बयानका लागि लगिएका उनलाई सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिटको फैसला गर्दै मुक्त गर्न निर्देशन दिएपछि प्रहरीले घरमा लगेर छोडेको थियो । अदालतको आदेश समेत अपहेलना गर्दै प्रहरीले यस्तो रवैया अपनाएपछि उनले अस्पतालबाटै कुरा गर्दै कानूनको शासनका लागि आफु लडेको बताएका छन् । उनले भने, मेरो बर्दीमा एउटा पनि दाग छैन । जुन विषयमा छानविन गर्दै कीर्ते गरेको अभियोग लगाइएको छ । त्यसमा समबन्धित व्यक्तिहरुले जवाफ दिनुपर्छ । अदालतमा मुद्दा चलिरहेको अवस्थामा मुद्दाको अर्को पक्षले यसरी जबर्जस्ती पक्राउ गर्ने, आफ्नो कुरालाई माथि पार्न विभिन्न कागजमा सही गर्न लगाउने लगायतका कार्य निन्दनीय छन् । सिलवालले आफुमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतले दिने निर्णय आफुले मान्ने बताएका छन् । आफुले बयान दिएको बताउँदै उनले भने, जे सोधेका छन् त्यसको जवाफ दिएको छु । तर, यो शैली ठीक होइन । मलाई सोधपुछ गर्ने हो भने प्रक्रिया अन्तर्गत आउनुपर्दछ । उच्च रक्तचापका कारण आफु अस्पताल भर्ना भएको सिलवालले बताएका छन् यसअघि उनलाई वीर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरी नियन्त्रणमुक्त गरिएको थियो । प्रहरीले उनलाई पक्राउ नै नगरेको देखाउनका लागि अदालतमा उपस्थित गराएको थिएन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?