अष्ट्रेलियन नागरिकता लिन गरिएको कडाईको संकेत के ?


– रमेश पोखरेल/मेलबर्न
अष्ट्रेलियाले आफ्नो नागरिकता लिने प्रावधानहरुमा परिवर्तन गर्दै यसलाई कडा बनाएको छ । सरकारले जारी गरेको नयाँ प्रावधान अनुसार अब अष्ट्रेलियाको नागरिक बन्नका लागि कम्तिमा पनि अंग्रेजीमा दख्खल भएकै हुनुपर्नेछ । १६ वर्ष उमेर मुनी र ६० वर्ष उमेर माथिको हकमा यो लागू नभएपनि अन्य सबैले यो परीक्षा पूरा गर्नुपर्नेछ । यसअघि पपुवावासीलाई दिइँदै आएको छुट समेत हटाइएको छ । यति मात्र होइन स्थायी बसोबासको अनुमति पाएको चार वर्षपछि मात्र नागरिकता लिन योग्य हुने र नागरिकताका लागि लिइने परीक्षामा फेल भएको अवस्थामा त्यसको दुई वर्षपछि मात्र अर्को परीक्षा दिन पाउने प्रावधानका कारण पनि अब अष्ट्रेलियाको नागरिकता लिने बाटो कठीन बनाइएको प्रष्ट छ । पहिलो कुरा त स्थायी बसोबासको अनुमति नै लिनका लागि पनि कम्तिमा तीन वर्ष ४५७ भिसामा कार्यरत रहेको हुनुपर्ने, सरकारले निकालेको लिष्टमा भएका पेशा अंगालेको हुनुपर्ने अथवा यहीँको शिक्षा लिएको हुनुपर्ने आदि प्रावधानले यसलाई थप कठीन बनाएको थियो । यिनै प्रावधानमा नागरिकता लिनका लागि स्थायी बसोबास गर्न थालेको चार वर्षको अवधिमा कम्तिमा ६ महिना मात्र देशबाहिर बसेको हुनुपर्ने बुँदा पनि राखिएको छ । यसअघि एक वर्षसम्म बाहिर बस्न पाउने प्रावधान थियो । यसबाहेक परीक्षामा सोधिने प्रश्नमा अष्ट्रेलियासँग सम्बन्धित केही गहन मूल्य र मान्यताका प्रश्न हुनेछन् जसको विपरित उत्तर दिएमा पनि सिधै नागरिकताको आवेदन रद्द गरिनेभएको छ ।
केही व्यक्तिहरुले यी प्रावधान सरकारले निश्चित धर्म वा जातिका मानिसहरुको विरुद्ध ल्याएको टिप्पणी गरेका छन् । तर, एउटा देशको रुपमा आफ्नो मूल्य, मान्यताहरुको सुरक्षा गर्नु कुनैपनि राष्ट्रको दायित्व हो भन्ने टिप्पणी पनि अर्कोतर्फबाट आएको छ । अंग्रेजी नै बोल्न नजान्ने मानिस कसरी अष्ट्रेलियन हुन सक्छ भन्ने तर्क गर्नेहरुलाई भने यहाँका आदिवासीहरुको तथ्यतर्फ ईंगित गर्दै जवाफ दिनेहरुको पनि कमी छैन । अझ यहाँ शरणार्थीका रुपमा आउनेहरुका लागि खुला हृदयले स्वागत गर्ने नाराको सार्थकता कहाँ पुगेको छ भनेर पनि आगामी दिनमा प्रश्न उठ्ने निश्चित नै छ । तर, यी सम्पूर्ण तथ्यहरुका बीचमा एउटा सत्य के हो भने पक्कै पनि अष्ट्रेलियाले आफ्नो नागरिकता, यहाँ स्थायी बसोबास गर्न चाहनेहरुका लागि कडा नियम भने लयएकै हो । यो नियम यत्तिकै आएको छैन यसका पछाडि अहिलेको विश्व राजनीति, विभिन्न ठाउँमा भइरहेका युद्ध र आक्रमणहरु मात्र होइन पछिल्लो मय अमेरिकामा देखा परेको नयाँ प्रशासन पनि कारण हो भन्दा फरक पर्ने छैन । यसको संकेत जसरी पश्चिमा देशहरुको नीति नियम र उसका निर्णयहरुको परिपालन गर्नमा अष्ट्रेलियाले अग्रता देखाउँदै आएको थियो त्यसैको निर्मम निरन्तरता मात्र हो भन्दा शायदै अत्युक्ति होला । माथि नै भनिसकियो कि कुनैपनि राष्ट्रले आफ्नो देशको नागरिकता जस्तो विषय अन्यत्रबाट आएका व्यक्तिहरुलाई दिँदा पर्याप्त सतर्कता अपनाउनैपर्छ जसलाई ल अफ द ल्याण्ड मानेको रुपमा बुझ्नु र त्यसै अनुरुप आफुलाई ढाल्न सक्नु अथवा आफ्नो योग्य अर्को ठाउँको खोजी गर्नु आजको वास्तविकता हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?