नेपाली महिला क्रिकेट टिमको प्रगति हेर्न चाहेको अष्ट्रेलियाको राष्ट्रिय टिमकी पूर्वकप्तान फिल्डसको धारणा (भिडियोसहित)


अष्ट्रेलियाको महिला राष्ट्रिय क्रिकेट टिमकी पूर्वकप्तान जोडी फिल्डसले नेपाली महिला क्रिकेटहरुले यो क्षेत्रमा उल्लेखनीय कार्य गरेको हेर्न चाहेको बताएकी छिन् । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको बहुसांस्कृतिक क्रिकेट प्रतियोगिताको फाईनलमा प्रमुख अतिथिका रुपमा सहभागी हुन आएकी उनले भिक्टोरियाको नेपाली महिला क्रिकेट टिमलाई करिब तीन घण्टा तालिम पनि दिइन् । तालिमको क्रममा उनीहरुको मुहारमा आएको खुशीले मलाई प्रभावित गरेको छ । उनीहरु अहिले विभिन्न काममा संलग्न छन् । तर, क्रिकेटमै पनि उनीहरुले राम्रो गर्न सक्छन् भन्ने लागेको उनले बताइन् । अष्ट्रेलियाको महिला क्रिकेट प्रतियोगिताको चर्चा गर्दै बिग बास लगायतका कारण यसले उचाई हासिल गर्दै गएको फिल्डसको भनाई छ । नेपाल जस्तो विकासशील देशमा महिला क्रिकेटको विकासका लागि के गर्न सकिन्छ भन्ने प्रश्नमा उनले भनिन्, “क्रिकेटले उनीहरुलाई नयाँ उत्साह दिन्छ । उनीहरुलाई अवसरको आवश्यकता छ, तालिमहरुको व्यवस्था गर्नसके क्रिकेटमा राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ ।” भिक्टोरियामा नेपालीले आयोजना गरेको कुनैपनि प्रतियोगितामा यो स्तरको सहभागिता पहिलो पटक भएको हो । यसका साथै बहुसांस्कृतिक क्रिकेट प्रतियोगिताका लागि यहाँको भिक्टोरियन बहुसांस्कृतिक आयोग र क्रिकेट अष्ट्रेलियाले समेत सहयोग गरेको छ । न्याभका अध्यक्ष डा. अनुपम पोखरेल भन्छन्, “जोडी फिल्डसको उपस्थितिले हामीलाई उत्साही तुल्याएको छ । अझ क्रिकेटमा केही गर्छौं भनेका नेपाली चेलीहरुको लागि यसले ठूलो अवसर दिएको छ । आगामी दिनमा यो भन्दा पनि ठूलो सहभागिताको लागि हाम्रो पहल र प्रयत्न जारी रहनेछ ।”  हेर्नुहोस् यो भिडियो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?