४५७ भिसा रद्द गर्ने अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणा, विदेशी कामदारको लागि नयाँ प्रावधान ल्याइने


अष्ट्रेलियाका प्रधानमन्त्री मालकम ट्रनबुलले विदेशी दक्ष कामदारको लागि दिइँदै आएको ४५७ भिसा रद्द गर्ने निर्णय गरेका छन् । आज एक पत्रकार सम्मेलन मार्फत उनले यस्तो घोषणा गरेका हुन् । अष्ट्रेलियामा बढ्दै गएको बेरोजगारीको दरलाई कटौती गर्न र अनावश्यक मानिसहरु दक्ष कामदारको नाममा अष्ट्रेलिया भित्रिन नपाउन् भन्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको उनले स्पष्ट पारेका छन् । ४५७ भिसाको सट्टामा अब दिइने नयाँ दक्ष कामदार भिसामा अनेक प्रावधानहरु हुनेछन् जसमा उच्चस्तरीय अंग्रेजी भाषाको ज्ञान पनि एक रहनेछ । राष्ट्रिय हितलाइृ ख्याल गर्दै ल्याइने यस्तो भिसाका लागि आउनेहरुले कडा प्रहरी चेकको पनि सामना गर्नुपर्नेछ । अष्ट्रेलियन कामदारलाई काम दिनुभन्दा विदेशबाट काम गर्नेहरु ल्याउने र सस्तोमा नै काम गराउने क्रम बढेको, विभिन्नखाले ठगीका घटनाहरु भएको तथा कामदारहरुबाट नै रकम लिएर उनीहरुलाई यहाँको पीआर दिलाउने माध्यम बनेको जस्तो अनेकन आरोपकाबीच यस्तो निर्णय आएको छ । पछिल्लो केही समयदेखि ४५७ भिसाका कारण ठगीका घटना बढेको भन्दै यसको विरोध भइरहेको थियो । विपक्षी लेबर पार्टीले अष्ट्रेलियनहरु बेरोजगार बस्नु परेको तर सरकारले गत वर्ष मात्र ९५ हजारभन्दा बढी विदेशीलाई ४५७ भिसा दिएको भनेर आलोचना गरेको थियो । मुख्यतः होटल उद्योगहरुमा ४५७ भिसा दक्ष कामदारको नाममा आइरहेका थिए । संसद भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसँगै उपस्थित भएका सीमा सुरक्षा तथा आप्रवास मन्त्री पिटर डट्टनले भने, अब यस्तो कार्यक्रमका साथ आउनेहरुले यहाँको पीआर प्राप्त गर्ने छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?