समुद्री सुरक्षाबारे तालिम र आमदर्शकमा चेतना लैजान एनआरएन अष्ट्रेलियाको सराहनीय कार्य


अष्ट्रेलियाको समुदमा डुबेर नेपाली विद्यार्थीहरुको मृत्युको दुःखद श्रृंखला चलिरहँदा एनआरएन नेपाली विद्यार्थीहरुको लागि सुरक्षा उपाय सम्बन्धी जनचेतनामूलक अभियान सुरु गरेको छ । अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै सिड्नीमा मंगलबार जनचेतनामूलक अभियान सुरु गरिएको छ । “पछिल्लो समय दुई नेपाली विद्यार्थीको पानीमा डुबेर निधन भएपछि बारम्बार दोहोरिएका यस्ता दुर्घटनालाई कम गर्नका निम्ति के गर्ने भन्ने विषयमा एनआरएनले व्यापक अन्तरक्रिया गरिरहेको थियो । विद्यार्थीहरुलाई तालिम पनि दिने र यससँगै आमसञ्चारको माध्यमबाट धेरैलाई जनचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम राखिएको हो ।” एनआरएन अष्ट्रेलियाका सचिव एवं यस कार्यक्रमका संयोजक टोनु घोतानेले एमएनटीभीलाई
बताए । यसमा स्थानीय एवीसी टेलिभिजनले पनि सहकार्य गरेको छ । एवीसी टेलिभिजनले पानीमा डुबेर ज्यान गुमाएपछि नेपाली समूदायले के कस्तो पूर्वतयारी र सतर्कताका पहलहरु गरेका छन् भन्ने विषयमा रिपोर्ट प्रस्तुत गर्नेछ । बुधबार विहान भएको तालिममा विद्यार्थी, एनआरएनका पदाधिकारीहरुसहितको टोलीलाई मरुब्रा सर्फ लाईफ सेभिंग क्लबका प्रशिक्षकले समुद्रमा अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा तालिम दिएका थिए । यसमा किंग्सफोर्ड स्मीथ क्षेत्रका लागि संघीय सदस्य म्याट थिसटेलवाईट पनि उपस्थित थिए । कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा वन, न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल, ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, युवा संयोजक विजय पोखरेल, एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल, विकास केसी लगायतका पदाधिकारी र विद्यार्थीहरु सहभागी थिए । एमएनटीभीसँग कुरा गर्दै उपाध्यक्ष दिनेश पोखरेलले भने “एनआरएन अष्ट्रेलिया विद्यार्थीहरुका समस्याका बारेमा पनि गम्भीर छ र उनीहरुले समुद्रमा अपनाउनुपर्ने सुरक्षाको विषयमा सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान आवश्यकता अनुसार दिँदै जानेछौं ।”

गत फेब्रुअरी १३ तारिखका दिन नेपाली विद्यार्थीहरु श्रृष्टि भण्डारी र सुदिप उप्रेतीको मरुब्रा तटमा भएको दुर्घटनामा मृत्यु भएको थियो । त्यसअघि पनि नेपाली विद्यार्थीहरुको पानीमा डुबेर ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?