प्रकाश अर्याल बने प्रहरीको प्रमुख, चार वर्षको मूल्यांकनलाई आधार बनाएको सरकारको दाबी


नेपाल सरकारले लामो समयसम्म नियुक्त गर्न नसकेको प्रहरी प्रमुखको आज टुंगो लगाएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डिआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । एक वर्षको कार्य सम्पादनमा उनी चौथो नम्बरमा रहेका थिए भने गत चार वर्षको कार्य मूल्यांकन निकालेर उनी एक नम्बरको डिआईजी रहेको देखाउँदै उनलाई प्रहरी प्रमुख बनाउने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकपछि अदालतको आदेशको मर्म अनुसार आफुहरुले प्रहरी प्रमुख बनाएको सञ्चारमन्त्री राम कार्कीले बताए । उनले दिएको अंक अनुसार अर्यालको १५४.२ अंक रहेको छ भने नवराज सिलवालको १ सय ५२ दशमलब ४, बमबहादुर भण्डारीको १ सय ५० दशमलब २ र जयबहादुर चन्दको १ सय ४७ दशमलब ६ अंक रहेको छ । राजनीतिक तवरमा नियुक्ति भएकोमा सर्वोच्च अदालतले यसअघिको निर्णय खारेज गरेपछि कानून, मन्त्रिपरिषदको कार्यालय र गृह सचिवका साथै कार्यवाहक प्रहरी प्रमुख रहेको एउटा सिफारिश समिति बनाइएको थियो । अहिलेसम्मको नम्बरको छानविन गरी सफारिश गर्ने जिम्मेवारी उक्त कमिटीलाई थियो । नवनियुक्त प्रहरी प्रमुख अर्याल अहिले प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?