भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु, सुरक्षा व्यवस्था कडा


नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजबाट सुरु भएको छ । यस वर्ष जात्रामा करिब रु २८ लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि आवश्यक पर्ने भैरव, भद्रकालीको रथ निर्माणदेखि डोरी किन्नेसम्मको काम भइसकेको छ । जात्रा अवधिभर प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ पोखरेलले बताउनुभयो । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरी गरी एक हजार १०० प्रहरी परिचालन गरिने प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण राणाले जानकारी दिनुभयो । जात्रामा ढुङ्गा हान्ने, हुलदङ्गा गर्ने जो कोहीलाई तत्कालै प्रहरीले पक्राउ गरी कडा कारबाही गरिने उहाँले बताउनुभयो । ढुङ्गा हान्ने, हुलदङ्गा गर्नेको पहिचान गर्न प्रहरीले जात्रा स्थलमा २४ वटा सिसी क्यामरा जडान गरेको र सडकमा बत्तीको व्यवस्था गरेको उहाँको भनाइ छ ।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुने परम्परा रहेको छ । विक्रम संवत्अनुसार सौह्रमासका आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तान्ने परम्परा छ ।


भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग, तरबार, निसान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा र स्थानीयको पूजा सकेर रथ तान्न सुरु गरिन्छ । मुख्यगरी चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रु नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई सत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ । प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ । नेपाल संवत् २६८ अर्थात् लिच्छवीकालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतेन्द्रले मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको एवम् त्यही प्रचलन आजसम्म चल्दै आएको छ । भूकम्पले क्षति गरेको संरचना एवम् रथ लैजाने रुटमा थुपारिएको भग्नावशेष हटाएर रथ लैजाने रुटसमेत खुलाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?