संविधान संशोधन नभएसम्म निर्वाचन हुन सक्दैनः अध्यक्ष यादव


सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम सिरहाद्वारा लहानस्थित पशुपति माविको प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यथास्थितिमा चुनाव हुनै नसक्ने र जर्बजस्ती गरिए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो । अध्यक्ष यादवले जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण, राष्ट्रियसभाको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुखले मत हाल्न पाउने व्यवस्था खारेजी तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको व्यवस्थासहित मधेसी मोर्चाले उठाएका माग सम्बोधन हुनेगरी संविधान संशोधन नभएसम्म चुनाव हुन सक्दैन भन्नुभयो । अध्यक्ष यादवले भन्नुभयो, “संविधानमै भएको व्यवस्थालाई समेत मिचेर दलीय भागबण्डाको आधारमा स्थानीय तह कब्जा गर्ने षड्यन्त्रअनुसार चुनावको हल्ला गरिँदैछ, त्यो हामी मान्दैनौँ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?