नेपालमा लगानी गर्ने अवसर चाहियो ? अवसरबारे मेलबर्न र ब्रिसबेनमा सेमिनार सम्पन्न


विदेशमा रहेर नेपालका कुनै विकास परियोजनाहरुमा लगानी गर्न चाहनेहरुका लागि मेलबर्न र ब्रिसबेनमा लगानी सेमिनार सम्पन्न भएको छ । युनाईटेड नेप्लीज आर्टस एण्ड ईन्टरटेन्मेन्टको युएनएईको आयोजनामा भएको यो कार्यक्रममा जलविद्युत परियोजना र रिसोर्टमा लगानीका विषयमा छलफल भएको हो । मेलबर्नको सेन्ट्रल अष्ट्रेलियन कलेजमा आईतबार सम्पन्न भएको सेमिनारमा एनआरएनका पब्लिक अफिसर समिम अनवर र लगानीका लागि खुलेका परियोजनाहरुको विषयमा मिंगमार तामांगले जानकारी गराएका थिए । उक्त क्रममा एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेसहित मेलबर्नका व्यवसायीहरु र लगानीको लागि ईच्छुक व्यक्तित्वहरु सहभागी बनेका थिए । प्रस्तावित परियोजना अन्तर्गत दोर्दी जलविद्युत आयोजनामा एनआरएनहरुले कसरी लगानी गर्न सक्छन् भन्ने विषयमा जानकारी गराइएको थियो । १२ मेगावाटको यो परियोजना लमजुंगमा बन्न लागेको छ । झण्डै साँढेदुई किलोमिटरको टनेर निर्माण गरी दोर्दी खोलामा बनाउन लागिएको परियोजनाका सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
यसैगरी काठमाडौंको कलंकीभन्दा माथि नागढुंगा जाने बाटोमा निर्माण गर्न लागिएको ५२ रोपनी क्षेत्रफलको अन्तर्राष्ट्रियस्तरको रिसोर्टसँगै ४० वटा बंगलाहरु पनि रहने र यो विदेशमा रहेका नेपालीहरुकै लागि बनाइएको तामांगले बताएका थिए । एक करोड ५० लाखदेखि २ करोड ७५ लाखसम्म पर्ने यी बंगलामा पाँचतारे होटलको सुविधा हुनेछ । यिनमा लगानी गर्नेहरुले आफु नेपाल आएको बेलामा त्यहीँ बस्न पाउनेछन् । यस्तै पर्यटकीय अन्य क्रियाकलाप पनि रिसोर्टमा थप गरेर विदेशीहरुलाई आकर्षित गर्ने योजना छ । ६० प्रतिशत अकुपेन्सी भएकै अवस्थामा पनि ५ देखि ६ प्रतिशतसम्म प्रतिफल दिनेगरी योजना बनाइएको उनले बताए । योजनाहरुको विषयमा उपस्थित व्यक्तित्वहरुले आफ्नो जिज्ञासा राखेका थिए । यसैबीच यस्तै सेमिनार ब्रिसबेनमा पनि सम्पन्न भएको छ । ब्रिसबेनमा भएको सेमितारमा पनि एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अभिमानसिंह बस्नेतसहित स्थानीय व्यवसायी र नेपालमा लगानी गर्न ईच्छुक नेपालीहरु सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?