पर्थमा नेपाली मन्दिर बनाउनका लागि श्रीमद्भागवत अमृत कथावाचन गरिने


पर्थमा नेपाली मन्दिर बनाउने उद्देश्यका साथ आगामी अप्रिल १५ देखि तीन दिनसम्म श्रीमद्भागवत अमृत कथा वाचन हुने भएको छ । पण्डित कमलनयन गौतमले अमृत कथा वाचन गर्ने उक्त संस्थाका संयोजक यादव शर्माले जानकारी दिनुभयो । आईतबार पर्थमा भएको एक भेलाले आगामी अप्रिल १५ मा हुन लागेको श्रीमद भागवत वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि आवश्यक तयारी गर्ने र पर्थमा रहने सबै नेपाली समूदायका सदस्यहरुलाई सक्रिय सहभागिताको लागि आह्वान गर्ने निर्णय गरेको हो । नेपाली मौलिक परम्परा, धर्म, संस्कृतिको प्रबद्र्धन गर्नका लागि पशुपतिनाथ र बौद्धनाथको संयूक्त स्वरुपमा नेपाली मन्दिर बनाउन लागिएको हो । सन् २०१४ मा दर्ता भएर निर्माणका लागि यसअघि नियमित आर्थिक संकलनका साथै विभिन्न कार्यक्रम मार्फत सहयोग जुटाएको नेपाली समूदायले भजनकीर्तन पनि नियमित रुपमा गर्दै आएका छन् । १५ अप्रिलमा हुने कार्यक्रम हच्किन प्लेस कीउडेलमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ । यस कार्यक्रमको उद्देश्य पर्थमा नेपालीको आफ्नै सामूदायिक भवन र मन्दिर निर्माण रहेको र यसलाई सफल बनाउन सबै जुट्न पनि आह्वान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?