सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्रीको भनाई, शेखर कोइराला पनि आशावादी


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने भएकाले कोही कसैलाई पनि आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मधेसी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले लामो समयपछि हुन लागेको निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको हो । प्रधानमन्त्रीले अहिले सिङ्गो मुलुक निर्वाचनमा जुटिसकेको बताउँदै मधेसी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावबारे केही दिनमा नै टुङ्ग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै देशलाई अतिवादमा जान नदिन परिवर्तनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाइ नपुग्ने प्रष्ट्याउँदै प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताउनुभयो । मधेसी जातीय समन्वय समाजका तर्फबाट संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्नेलगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
निर्धारित समयमै स् नेता कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने दाबी गर्नु भएको छ । प्रेस युनियन पर्साका पूर्वसभापति काशीनाथ यादवको स्मृतिमा आज यहाँ आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै उहाँले मधेसी मोर्चाको सहमतिमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मधेसी मोर्चालाई बाहिर राखेर चुनावमा गइयो भने मधेसमै रहेका अतिवादी शक्तिहरु हावी हुन्छन्, जसले गर्दा मुलुकमा झन् ठूलो सङ्कट आउने भएकाले जसरी हुन्छ मधेसी मोर्चालाई सम्झाएर बुझाएर अगाडि बढनुपर्छ ।” नेकपा ९एमाले०को उग्रराष्ट्रवादले मधेसमा विद्रोहको आगो थपिँदै गएको उल्लेख गर्दै नेता डा कोइरालाले काठमाडौँका केही नेताहरुले मधेसीको राष्ट्रियतामाथि शङ्का गर्ने प्रवृत्ति एकदमै घातक भएको टिप्पणी गर्नुभयो । मधेसमा भइरहेको सङ्घर्ष, पहिचान, पहुँच र प्रतिनिधित्वका लागि नै भएको भन्दै उहाँले मधेसका मुद्दाप्रति काँग्रेस सदैव सकारात्मक रहेको जिकिर गर्नुभयो । हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सवालमा आफ्नो बिमति रहेको बताउँदै उहाँले राष्ट्रिय सभामा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । स्व यादव लोकतान्त्रिक योद्धा रहेको स्मरण गराउँदै नेता डा कोइरालाले यादवको निधनले लोकतन्त्रप्रेमीहरु स्तब्ध भएको बताउनुभयो । सो अवसरमा सांसदहरु राजेन्द्र बहादुर अमात्य, अनिल रुँगटा तथा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्घिवेदीलगायतले पनि स्व यादवलाई श्रद्घान्जलि दिनुभएको थियो । यादवको गत चैत १६ गते निधन भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?