अष्ट्रेलिया पढ्न आउने नेपालीका लागि खुशीको खबर, नेपाल एसेस्मेन्ट लेभल २ मा कायमै


अष्ट्रेलिया सरकारले नेपाललाई पुनः एसेस्मेन्ट लेभल २ मा नै कायम राखेको छ । आजबाट लागू गरिएको नियम अनुसार नेपाल भिसा रिस्क लेभल नराम्रो नभएको अवस्थामा देखिएको हो । यसले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया सहज हुनेछ । एसेस्मेन्ट लेभल १ वा २ मा नै रहेका शैक्षिक संस्थाहरुमा पढ्न चाहने विद्यार्थीहरुको लागि यो सहज अवस्था हो । यद्यपि, अष्ट्रेलियन सरकारले विभिन्न समयमा यी नियमहरुमा संशोधन गरिरहेको हुन्छ । “अहिलेका लागि भने यो नेपाली विद्यार्थीको निम्ति खुशीको कुरा नै हो ।” शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले एमएनटीभीलाई बताए । अर्यालका अनुसार “एसेस्मेन्ट लेभल २ मा भएको देशबाट आउने विद्यार्थीले उही वा त्यसभन्दा माथिल्लो लेभलमा रहेका शैक्षिक संस्थामा पढ्नका लागि निवेदन दिँदा विश्वविद्यालय वा कलेजले नै विद्यार्थीको आर्थिक अवस्था लगायतका विषयको कागजपत्र हेर्ने गर्दछन् । कन्फर्मेशन अफ ईन्रोलमेन्ट आएको अवस्थामा ईमिग्रेसनले भिसाको लागि कुनै समस्या गर्दैन ।”
गत एक वर्षको भिसाको दर हेरेर नेपालको एसेस्मेन्ट लेभल निर्धारण गरिएको हो । दक्षिण एशियाली देशमा भारत र बंगलादेश एसेस्मेन्ट लेभल ३ मा परेका छन् । एक वर्ष अघिसम्म पनि नेपाल यही लेभलमा थियो । एसेस्मेन्ट लेभल ३ नै भएको अवस्थामा थप कागजात र आर्थिक श्रोतको ग्यारेन्टीका प्रावधानहरु प्रस्तुत गरेको अवस्थामा रेगुलर विद्यार्थीले भिसा पाउने सम्भावना रहन्थ्यो नै । तर, एसेस्मेन्ट लेभल २ भएको कारणले यही लेभलको शैक्षिक संस्था छनोट गरेको अवस्थामा विद्यार्थी भिसाको लागि सहज बनेको हो । यही नयाँ प्रावधानका कारण गत वर्ष मात्रै ८ हजारभन्दा बढी नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका थिए भने यस वर्ष पनि यो संख्या बृद्धिदर कायमै रहने अनुमान गरिएको छ ।

Photo Credit : www.brisbanestudents.com.au

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?