नेपाली कफी मेलबर्न एक्स्पोमा, अग्र्यानिक कफीको स्वाद शनिबारसम्म पाइने


अष्ट्रेलियाको मेलबर्नमा सुरु भएको अन्तर्राष्ट्रिय कफी एक्स्पोमा नेपाली सरकारी अधिकारीसहित व्यवसायीहरुको टोली सहभागी भएको छ । बुधबार मेलबर्न आइपुगेको टोलीले तीन दिनसम्म चल्ने एक्स्पोमा छुट्टै नेपाली स्टल राखेर अग्र्यानिक नेपाली कफीको प्रदर्शनी गरेको छ । नेपाली कफीको स्टलको वाणिज्यसचिव नईन्द्रप्रसाद उपाध्यायले उद्घाटन गर्नुभयो । उद्घाटनको अवसरमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन पनि उपस्थित हुनुहुन्थ्यो । नेपाली अग्र्यानिक कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने उद्देश्यका साथ यो एक्सपोमा सहभागी हुन आएको नेपाली टोलीको नेतृत्व गरिरहनुभएका वाणिज्यसचिव उपाध्यायले जानकारी दिनुभयो । सचिव उपाध्यायले उत्पादनदेखि वितरण र अन्तर्राष्ट्रिय बजारमा निर्यातसम्मको चेनमा सबैलाई समेट्नका लागि एक्स्पो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मेलबर्न आइपुगेको टोलीमा कषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग र निजी क्षेत्र विकास परियोजनाका सल्लाहकार डा. बद्री बस्ताकोटी, कफी उत्पादक कम्पनीका प्रतिनिधिहरु सहभागी छन् । अन्तर्राष्ट्रिय कफी एक्सपोमा अन्तर्राष्ट्रिय बजारको मुख्य हिस्सा ओगटेका प्रमुख कम्पनीहरुका साथै विभिन्न देशका प्रतिनिधि पनि सहभागी छन् । नेपाली अग्र्यानिक कफीलाई स्थानीय पारखीहरु चासोपूर्ण रुपमा हेरेको पाइएको छ । शनिबारसम्म चल्ने एक्स्पोमा पुगेर नेपाली अग्र्यानिक कफीको स्वाद लिन र कफीका पारखी स्थानीयलाई समेत सहभागी गराउन भ्रमणमा रहेको टोलीले सबैमा आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?