एम फेष्टिभलमा दश हजार सहभागी, मःमः र संगीतमा रमाए विदेशी पनि !


मेलबर्नमा पहिलो पटक आयोजना गरिएको एम फेष्टिभलमा १० हजारभन्दा बढी सहभागी भएका छन् । नेपालीसहित स्थानीय अष्ट्रेलियनहरु पनि सहभागी बनेको एम फेष्टिभलमा नेपाली प्रसिद्ध परिकार ममको स्वादमा धेरै रमाए । नेपाली संगीतलाई विश्वमञ्चमा पस्किदै आएको व्याण्ड कुटुम्बले आफ्नो संगीतको तालमा दर्शकलाई नचाएको थियो । ममसँगै अन्य विभिन्न खानाका परिकारहरुले पनि उपस्थित दर्शकहरुलाई आकर्षित गरेको थियो । करिब ६ महिना अघिदेखि एम फेष्टिभलको तयारीमा जुटेका सोलाङचरका राजु शाक्य र उनको टिमले चुस्त व्यवस्थापनकाबीच मेलबर्नको कोबर्गस्थित कोबर्ग भेलड्रोममा एम फेष्टिभल सम्पन्न गरेका छन् । शाक्य भन्छन्, “८ हजार ५ सय दर्शकले एम फेष्टिभलमा दर्ता गर्नुभएको थियो । हाम्रो अनुभवमा दिनभरि गरेर १० हजारभन्दा बढी सहभागी हुनुभयो ।” मध्यान्हदेखि सुरु भएको यस फेष्टिभलमा भर्खरै सकिएको फागुको अवसरमा एक अर्कालाई रंग दलेर पनि खुशी साटिएको थियो ।
ममको महिमा
हरेक साताजस्तो विभिन्न बहुसांस्कृतिक कार्यक्रम आयोजनाहुने कोबर्ग भेल्ड्रममा उपस्थित भएका स्थानीय अष्ट्रेलियनहरुले नेपाली ममको स्वाद मन पराएका थिए । कार्यक्रमको अर्को आकर्षण मम माष्टरसेफ स्पर्धा थियो । ममलाई नयाँ स्वरुपमा प्रस्तुत गर्ने यो स्पर्धामा सहभागी हुन अष्ट्रेलियाका विभिन्न ठाउँबाट सेफहरु आएका थिए । प्रारम्भिक चरणबाट छानिएर फाईनलमा पुगेका सेफहरु अञ्जल जोशी, सीता गुरुंग र सञ्जीव श्रेष्ठमध्येबाट निर्णायकले सीता गुरुंगले बनाएको सीफुड ममलाई उत्कृष्ट ठहराए । यो निर्णयसँगै गुरुगले पाँच सय डलर राशी पनि जित्न सफल भइन् । ममको रौनक एकातिर थियो भने अर्कोतर्फ संगीतको रौनकमा उपस्थित विदेशीहरुले कुटुम्बको सांगीतिक प्रस्तुतिमा नाचेर, ताली बजाएर उत्साह थपेका थिए । एम फेष्टिभलमा कुटुम्बका साथै स्थानीय व्याण्डहरुले पनि आफ्नो प्रस्तुति दिए । सोलाङचरका राजु शाक्य भन्छन्, “हामीले जुन सोचका साथ यो कार्यक्रम तयार पारेका थियौं त्यसभन्दा बढी नै नेपाली समूदाय र अष्ट्रेलियन कम्युनिटीले गरेको सहयोग सराहनीय छ । नेपाललाई मःमः र म्युजिकको माध्यमबाट प्रबद्र्धन गर्ने प्रयास गरेका थियौं । कार्यक्रम सम्पन्न भइसक्दा एम फेष्टिभलले धेरै मेलबर्नवासी अष्ट्रेलियनहरुलाई पनि नेपालबारे चासो जगाउन सक्यो भन्ने लाग्छ । यो निकै खुशीको कुरा हो । कार्यक्रमको बारेमा सोच्दा हामीले २ हजार जति दर्शक ल्याउने लक्ष्य राखेका थियौं । तर, त्यसको पाँच गुणा बढी सहभागिता हुनु खुशीको कुरा भयो । त्यतिमात्र होइन, आएका दर्शक सन्तुष्ट भएको, जुनसुकै उमेर समूहको भएपनि रमाएको देख्दा हामी हर्षित छौं । दर्शक मात्र होइन, यसमा समावेश भएका विजनेस हाउसहरु पनि खुशी भएका छन् । यसले हामीलाई हौसला दिएको छ । एम फेष्टिभललाई हामी निरन्तरता दिनेछौं ।” कार्यक्रमस्थलमा बालबालिकाहरुको लागि मनोरञ्जनात्मक विभिन्न खेलहरु पनि समावेश गरिएको थियो । एम फेष्टिभलमा नेपाली चित्रकला, हस्तकला र मूर्तिकलाका सामग्रीहरु राखिएका थिए भने नेपालको राष्ट्रिय झण्डा अंकीत भएका टिसर्टहरु समेत किन्ने सुविधा थियो ।  मेलबर्नमा नेपाली चित्रकलाको प्रबद्र्धन गरिरहेको चित्रकार ग्यालरीको स्टलमा नेपाल घुमेर फर्किएका  अष्ट्रेलियनहरु उत्सुकतापूर्वक पुगेका थिए । यस्तै भगवान गौतम बुद्धको मूर्ति, सर्वोच्च शिखर सगरमाथा अंकीत भएका टिसर्टहरुका विषयमा समेत दर्शकहरुले चासो दिएका थिए ।
लाप्राकमा भवन बनाउन सहयोग
नेपाल र नेपाली संगीत तथा खानाको प्रबद्र्धन गर्ने उद्देश्यका साथै एम फेष्टिभलमा एनआरएनले नेपालको गोरखा जिल्लामा अवस्थित लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणको लागि आर्थिक सहयोग जुटाउने घोषणा पनि गरिएको थियो ।  यसका लागि विभिन्न स्टलहरुमा सहयोग संकलन बुथहरु राखिएका थिए । यी बुथमा ६ हजार १ सय ९९ डलर संकलन भएको आयोजक संस्था सोलाङचरले जनाएको छ । करिब एक महिना लामो अष्ट्रेलिया टूरमा आएको कुटुम्ब व्याण्डले शनिबार एडिलेडको नेपाल महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति पस्किएको थियो भने एम फेष्टिभल सम्पन्न गरेर शुक्रबार पर्थ जाने तय भएको छ । कुटुम्बको अष्ट्रेलिया यात्राको संयोजन सोलाङचरले गरिरहेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?