चीन पुगेर फेरि प्रधानमन्त्री प्रचण्डले एकपटक फेरि भने ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध’


प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली जनता प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग बेइजिङमा भएको चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ, इन्टरनेसनल लेइजन विभागका प्रमुख सङ ताओले गर्नुभएको छुट्टाछुट्टै शिष्टाचार भेटमा दुई देशको सम्बन्ध प्रगाढ भएको विचार व्यक्त गर्नुभएको हो । नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रुपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उहाँले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको नेपाली जनताले हेर्न चाहेको बताउनुभएको थियो । सो अवसरमा नेपालको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उपप्रधानमन्त्री याङले संविधान कार्यान्वयन एवम् शान्ति प्रक्रियालाई पूरा गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि चीन र चिनीया जनताका तर्फबाट निरन्तर सहकार्य हुने विश्वास दिलाउनुभएको थियो । त्यसैगरी इन्टरनेसनल लेइजन विभागका प्रमुख ताओले सदियौँदेखिको दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने र त्यसका लागि नेपालको समृद्धिको बाटोमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड
काठमाडौँ, १३ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूपरिवेष्टित मुलुकलाई दिइने अधिकारका सम्बन्धमा गत वर्ष भएको पारवहन यातायात सम्झौता सर्वाधिक महत्वको भएको बताउनुभएको छ । बेइजिङस्थित फरेन स्टडिज युनिभर्सिटीले आज आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध ः वृद्धि तथा समृद्धिको दृष्टिकोण’ विषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पारवहनलगायत विगतका सम्झौतालाई कार्यान्वयनमा लैजाने धारणा व्यक्त गर्नुभयो । समृद्धिका लागि सम्पर्क सञ्जाल ९कनेक्टिभिटी० सर्वाधिक महत्वको भएको बताउँदै उहाँले पूर्वाधार निर्माणका साथै ज्ञान र बौद्धिकतासँगै बजारलाई पनि एकआपसमा जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले सडक, रेल, हवाई तथा वेबसँग संयोजित भएर आपसका समृद्धि साटासाट गर्न सकिने बताउँदै अन्तरदेशीय संपर्कलाई अझ विस्तार गर्न दुई देश बीचका अन्य सीमा नाकालाई पनि खोल्नुपर्नेमा जोड दिनुभयो । चीनका मुख्य सहरसँग काठमाडौँलाई हवाई मार्गमार्फत जोड्नुपर्ने भन्दै उहाँले चीन तथा नेपालबीचमा थप उडान आवश्यक रहेको बताउनुभयो । चीनले अगाडि बढाएको ‘एक क्षेत्र एक मार्ग’ अवधारणा सहकार्य र साझेदारीका लागि अपूर्व अवसर भएको बताउँदै राष्ट्रपति सि चिनफिङप्रति यसका लागि धन्यवाद व्यक्त गर्नुभयो । प्राचीनकालमा प्रयोग भएको महत्वपूर्ण रेशम मार्गको नेपाल जानकार रहेको उल्लेख गर्दै उहाँले यो मार्ग एसियाको केन्द्रदेखि दक्षिण एसियाली क्षेत्रको आर्थिक विकाससम्मका लागि महत्वपूर्ण हुने बताउनुभयो । सन् २०१४ मा सहमति जनाइसकेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणाबारेका कार्य अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले उक्त अवधारणामा सम्झौता गर्न नेपाल तयार रहेको स्पष्ट पार्नुभयो ।
एसियाली पूर्वाधार लगानी बैंक र सङ्घाई सहकार्य सङ्गठनसँग आबद्धता भइसकेको उल्लेख गर्दै उहाँले आर्थिक वृद्धि तथा समृद्धि द्विपक्षीय व्यापारका लागि महत्वको विषय भएको बताउनुभयो । हालै नेपालमा सम्पन्न भएको लगानी सम्मेलनमा सहभागी भएकामध्ये ६० प्रतिशत लगानीकर्ता चिनियाँ भएको बताउँदै प्रधानमन्त्रीले प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन विकास नेपाल–चीन सम्बन्धको अर्को महत्वपूर्ण क्षेत्र हो भन्नुभयो । नेपालमा जलस्रोतको अपार सम्भावना रहेको र यसबाट दिगो तथा हरित ऊर्जा प्राप्त गर्न सकिने र आर्थिक वृद्धिका लागि आधार बन्नसक्ने उल्लेख गर्दै उहाँले यस क्षेत्रमा नेपालसँग सहकार्य गरेर अगाडि बढ्न चीनलाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रको विकासलाई विविधिकरण गरेर अगाडि बढ्न आफूहरुले चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सौर्य ऊर्जा, जैविक ऊर्जा र वैकल्पिक ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा सहरी पूर्वाधार, अन्तरदेशीय प्रसारण लाइन, दूरसञ्चार तथा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अपार अवसर रहेको उल्लेख गर्नुभयो । शाक्यमुनि वुद्धको जन्मस्थल तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको मुलुक नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आग्रह गर्दै उहाँले नेपालको संस्कृति एवम् सुन्दर प्राकृतिक दृश्यले सबैलाई मन्त्रमुग्ध पार्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?