अष्ट्रेलियाका लागि राजदूतमा लक्की शेर्पाको नाम अनुमोदन, अष्ट्रेलियाले पनि नेपालमा नयाँ राजदूत पठाउँदै


नेपाल र अष्ट्रेलियाबीच दौंत्य सम्बन्ध स्थापित भएको आधा दशकको अवधिमा पहिलो पटक दुवै देशका राजदूतहरु एकै समयमा परिवर्तन हुँदैछन् । अष्ट्रेलियामा निकै लामो समयदेखि रिक्त रहेको राजदूतका रुपमा नेपालबाट लक्की शेर्पा आउँदैछिन् भने अष्ट्रेलियाले पनि वर्तमान राजदूत ग्लेन ह्वाईटलाई विस्थापित गर्दै पिटर बडलाई नियुक्त गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुली विशपले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको राजदूतका रुपमा बडलाई नियुक्त गरिएको जानकारी दिएकी हुन् । विज्ञप्तिमा वर्तमान राजदूत ग्लेन ह्वाईटले नेपालमा विनाशकारी भूकम्प गएको बेला गरेको कार्यको प्रशंसा गर्दै नवनियुक्त राजदूत बडको कार्यकालमा पनि अष्ट्रेलिया र नेपालको सम्बन्ध नयाँ स्तरमा विकसित हुने अपेक्षा गरेकी छिन् । यसैबीच, नवनियुक्त राजदूत बडले एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलसहित नेपाली समूदायका केही अगुवाहरुसँग नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । नवनियुक्त बडसँगको भेटमा आफुले नेपालबाटै भिसा जारी गर्ने, नेपाली विद्यार्थीहरुको सुविधा तथा नेपालको विकासमा अष्ट्रेलियाले खेल्नसक्ने भूमिकाको विषयमा सुझाव प्रस्तुत गरेको सिग्देलले एमएनटीभीलाई बताए ।
यसैबीच, नेपालमा व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि अनुमोदन गरेको छ । सरकारले अष्ट्रेलियाका लागि प्रस्तावित लक्की शेर्पासहित अन्य देशका राजदूतको नाम अनुमोदन गरेको हो । यसरी अनुमोदन हुने अन्य राजदूतहरुमा निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मा), विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)छन् । संसदीय सुनुवाइपछि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवम् नेकपा ९एमाले०का प्रमुख सचेतक भानुभक्त ठकालले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?