चिनियाँ रक्षामन्त्रीसँग भेटेपछि प्रधानमन्त्री चीनतिरै जाँदै


छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा आज शिष्टाचार भेट गर्दै हुनुहुन्छ । भेटपछि प्रधानमन्त्री चीनतर्फ जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिनुभयो । चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले व्यक्त गर्नुभयो । नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।
उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्नुभएको छ । चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उहाँहरुसँग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि चिन फिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?