जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज, नवराज सिलवाललाई बाटो खुल्यो


सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्च अदालतको पूर्ण ईजलासले बहालवाला प्रहरी नायव महानिरीक्षकहरुमध्ये योग्यतम र विगत चार आर्थिक वर्षको कार्यसम्पादक मूल्यांकनमा औसत उच्च अंक प्राप्त गर्नेलाई तत्काल प्रहरी महानिरीक्षक बनाउन परामादेश दिएपछि नवराज सिलवाल आईजीपी बन्ने पक्का भएको हो । यद्यपि सरकारले यस विषयमा निर्णय गर्नुपर्नेछ ।

मन्त्रिपरिषद्को अब बस्ने बैठकले यस विषयमा निर्णय लिनुपर्नेछ । सर्वोच्च अदालतले नवराज सिलवाललाई नै प्रहरी प्रमुख बनाउनका लागि नाम तोकेर नभने पनि प्रहरी नियमावली २०७१ को नियम ४१ समेतका प्रावधानहरु पालना गर्न, न्यायको मान्य सिद्धान्त, सुरक्षा निकायको नियन्त्रण कर्ड अर्थात् चेन अफ कमाण्डको पालना, रिट निवेदकको वैध अपेक्षा लगायतका कारणहरु दिँदै नयाँ नियुक्ति गर्न भनेको छ । यसैगरी फैसलामा नवराज सिलवाल नै योग्यतातर्फ अग्रस्थानमा रहेको, कार्यसम्पादन अनुसार पनि नवराज सिलवाल नै नम्बर वन रहेको भन्दै चौथोमा रहेको व्यक्तिलाई कसरी प्रमुख बनाइयो भन्ने विषयलाई खारेज गरिदिएको छ ।
अब के हुन्छ ?
सरकारले सर्वोच्च अदालतको आदेश मानेर नयाँ प्रहरी प्रमुखका रुपमा एक नम्बरमा रहेका नवराज सिलवाललाई तोक्न सक्नेछ । गृहमन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गर्नेछ । तर, सरकारले यस्तो नगर्न पनि सक्छ । अहिलेकै कायमुकायमलाई अगाडि बढाउने र केही समयपछि फेरि अहिले गरेकै निर्णयलाई अर्को बैठकबाट अघि ल्याउने पनि हुनसक्छ । तर, यसो गरेको अवस्थामा न्यायपालिका र कार्यपालिकाबीचको द्वन्द्व बढेर जाने देखिएको छ । निर्वाचनको तयारीमा लागेको सरकारले यसतर्फ कुनै कदम चाल्ने सम्भावना कमै देखिएको छ । यसैबीच, सर्वसाधारणले यो फैसलाको स्वागत गर्न थालिसकेका छन् । प्रहरी प्रमुखमा शेरबहादुर देउवाको बलमिच्याईका कारण चेन अफ कमाण्ड भत्किएपनि चन्दलाई नै प्रहरी प्रमुख बनाएका प्रधानमन्त्रीलाई पनि अदालतको यो आदेशले राहत दिएको छ । यसैबीच, गृहमन्त्री समेत सिलवालकै पक्षमा रहेका थिए । यसैकारण तत्कालै मन्त्रिपरिषदले नयाँ प्रहरी प्रमुखका रुपमा नवराज सिलवाललाई तोक्ने लगभग निश्चित देखिन्छ ।

गत फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले बदर गरी कार्यसम्पादनका आधारमा उच्चतम अङ्क ल्याउने मध्येबाट बढुवा गर्न सरकारका नाममा परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासले प्रहरी नियमावली, २०७१ को नियम ४१ को प्रावधानको समुचित परिपालना गरी, न्यायका मान्य सिद्धान्त, सुरक्षा निकायको नियन्त्रण कडीलाई समेत ध्यान दिएर उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘प्रहरी नियमावलीका आधारमा ज्येष्ठता, कार्यसम्पादनसम्बन्धी योग्यतातर्फ दृष्टिगत गर्दा नवराज सिलवाल नै अग्रस्थानमा रहेको देखियो ।” आदेशमा आर्थिक वर्ष २०६९÷७० देखि २०७२÷७३ सम्म चार वर्षको कुल औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको उल्लेख छ । तर मन्त्रिपरिषद्ले निर्णय गर्दा प्रहरी नियम ४१ ले बढुवा गर्दा प्रक्रियामा कार्यसम्पादन मूल्याङ्कनका पक्षमा कुनै दृष्टि नदिइएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्ले कार्यसम्पादन मूल्याङ्कनमा सम्पूर्णरुपमा अन्देखा गरेको पाइयो, यसलाई उचित मान्न सकिएन ।’ कार्यसम्पादन मूल्याङ्कनमा पहिलो अर्थात् सबैभन्दा बढी अङ्क प्राप्त गरेका व्यक्तिलाई छाडेर चौथो क्रमका व्यक्तिलाई बढुवा गर्नुबाट निर्णयकर्ताको स्वेच्छाचारिका प्रमाणित भएको देखिएको बताइएको छ । प्राप्त पुरस्कार, विभूषण, प्रशंसा आदिका दृष्टिले पनि सिलवाल अब्बल देखिएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘कार्यसम्पादन, वरियता र ज्येष्ठताका आधारमा नगरी चारौँ स्थानका चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय त्रुटिपूर्ण र काुनन प्रतिकूल देखिन आयो ।’  आदेशमा रिट निवेदक सिलवालउपर अनुचित भेदभाव हुन पुगेको देखिएको र वरिष्ठताको पहिलो क्रममा रहेका व्यक्तिउपर समानताको व्यवहार नभएको साथै अनुचित र अन्यायपूर्ण व्यवहार देखिएको उल्लेख छ ।
अधिवक्ता कपिलदेव ढकाल र प्रतिस्पर्धी स्वयम् सिलवालले प्रहरी नियमावलीविपरीत सरकारले चन्दलाई प्रहरीमहानिरीक्षकमा बढुवा गरेको भन्दै सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?