सिड्नीमा नारी दिवसको सन्दर्भ पारेर सुरु भयो योगको नयाँ अध्याय


नारी निकुञ्ज अष्ट्रेलियाले ८ मार्च विश्व नारी दिवसको सन्दर्भ पारेर बृहद योग शिविर सम्पन्न गरेको छ । ग्रानभिलस्थित सर्वियन कम्युनिटी हलमा आयोजना गरिएको यस योग शिविरमा २ सयभन्दा बढी सिड्नीवासी नारीहरु सहभागी थिए । कार्यक्रममा आचार्य राजन शर्माले योगका विभिन्न आसन र यसको महत्वबारे उपस्थितहरुलाई जानकारी दिनुका साथै उक्त आसनहरु गराएर योगतर्फ लाग्ने उत्प्रेरणा दिनुभएको थियो । मानव जीवनमा योगको महत्व, चित्तशुद्धि र शान्तिका लागि गर्नुपर्ने कार्यका बारेमा उनले जानकारी दिएका थिए । सहभागीहरुलाई योगका आसन सिकाउनेक्रममा योग शिक्षिका स्मृति वैद्यले सघाएकी थिइन् । योगका प्रशिक्षणअघि आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले यहाँ सिकेको योगलाई सिड्नीका घर घरमा लैजाने बताएकी थिइन् । यसैगरी एनआरएन प्रवक्ता रञ्जु थापाले योगले जीवनमा नयाँ हौसला प्रदान गर्ने अनुभव आफ्नो रहेको सुनाएकी थिइन् । नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले नियमित ययोगबाट जीवनमा धेरै लाभ लिन सकिने भएकोले संस्थाले योग र ध्यानको प्रशिक्षण कार्यक्रम राखेको बताएकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?