खुल्यो एनआरएन अष्ट्रेलियाको सदस्यता, २५ डलर शुल्क, १० हजार सदस्य बनाउने लक्ष्य


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता आजबाट खुलेको छ । पुराना सदस्यहरुले नवीकरण गर्न र नयाँ सदस्यता प्राप्त गर्नका लागि आजबाट खुल्ला गरिएको र अनलाईनमार्फत नै सस्यता लिन, यसका लागि आवश्यक कागजात अपलोड गर्न र शुल्क समेत तिर्न सकिने व्यवस्था मिलाइएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार नयाँ सदस्यता लिनका लागि २ वर्षका लागि २५ डलर शुल्क तोकिएको छ । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल यसरी सदस्यहरुबाट लिइने सदस्यता शुल्कबाट कल्याणकारी कोष, एनआरएन आईसीसी, एनआरएन एनसीसी र एनआरएन एससीसीमा आर्थिक योगदान हुनेछ । अघिल्लो पटक करिब ५ हजारको हाराहारीमा सदस्यता थियो । करिब एक लाख नेपालीको बसोबास रहेको भनिएको अष्ट्रेलियामा जम्मा ५ हजार सदस्य रहेको भन्दै एनआरएनको आलोचना भएपछि यस पटक सदस्यता बनाउने कार्यलाई अभियानकै रुपमा अघि बढाउन लागिएको सचिव टोनु घोतानेले जानकारी दिए । “साथीहरुले सबै स्टेटमा सदस्य बन्नका लागि आह्वान सुरु गर्नुभएको छ, हाम्रो लक्ष्य अष्ट्रेलियामा स्थायी रुपले बसोबास गर्ने सबै नेपालीलाई सदस्य बनाउने हो । यस पटक कम्तिमा १० हजार सदस्य बनाउने लक्ष्य राखिएको छ ।” घोतानेले एमएनटीभीसँग भने । सदस्य बन्नका लागि एनआरएन अष्ट्रेलियाको वेवसाईटमा गएर सदस्यता आवेदन भर्नुपर्नेछ । यसैगरी परिवार आजीवन सदस्यताको ५ सय डलर, व्यक्तिगत आजीवन सदस्यताको २ सय ५० डलर शुल्क राखिएको छ भने दुई वर्षको साधारण सदस्यता शुल्क परिवारका लागि ५० डलर र व्यक्तिगत २५ डलर तोकिएको छ । यस पटकदेखि विद्यार्थीहरुका लागि एशोसिएट सदस्यता दिने समेत तयारी गरिएको छ । उनीहरुलाई मतदान गर्ने अधिकार भने हुने छैन । विद्यार्थीले एकजनाले १० डलर तिरेर एशोसिएट सदस्य हुन सक्नेछन् भने परिवारकै सदस्यताको लागि २० डलर शुल्क तोकिएको छ ।
यो लिंकमा गएर एनआरएन अष्ट्रेलियाको सदस्य बन्न सकिनेछ ।
www.nrn.org.au

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?