एडिलेडमा एक श्रीलंकन नागरिकको हत्या गर्नेहरु नेपाली नभएको महावाणिज्यदूतको कार्यालयबाट जानकारी


अष्ट्रेलियाको दक्षिणी शहर एडिलेडको उत्तरमा रहेको पेनफिल्ड गार्डेन्समा एक ३९ वर्षीय श्रीलंकन मूलको व्यक्ति हत्याको आरोपमा पक्राउ परेका तीनजना नेपाली नभएको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका व्यक्तिहरु नेपाली भएको स्थानीय पत्रिकाले प्रहरीलाई उद्धृत गर्दै अदालतमा दिएको सूचनाका आधारमा समाचार प्रकाशित गरेको थियो । एमएनटीभीका एडिलेड प्रतिनिधि दिपक लामाले आफु घटनास्थल नजिकै बस्ने र यहाँ रहेका नेपालीहरु उक्त घटनामा संलग्न भएको नभेटिएको बताएका छन् । लामाका अनुसार प्रहरीले दिएको जानकारी भन्दै प्रहरीले अदालतमा नेपाली मूलका व्यक्तिहरु हत्यामा संलग्न भएको सूचना दिएकोमा साउथ अष्ट्रेलियास्थित नेपाली महावाणिज्यदूत दिपक धमलाले प्रहरीसँग ति नेपालीको जानकारी माग गर्दा उनीहरु नेपाली नभएको खुलेको हो । अति विभत्स तरिकाले एक श्रीलंकन मूलका व्यक्तिको हत्याको आरोपमा यतिबेला तीनजना हिरासतमा छन् भने घटनाको अनुसन्धान जारी छ । प्रहरीले अनुसन्धान जारी रहेको अवस्थामा पक्राउ परेका आरोपीहरुको परिचय खुलाउने गर्दैन । हत्याको आरोपमा पक्राउ परेका व्यक्तिहरु नेपाली नभएको भन्दै स्थानीय नेपाली समूदायका अगुवाहरुले उक्त समाचार प्रकाशन गर्ने दि एड्भर्टाइजरले यस विषयमा माफी माग्नुपर्ने माग गरेका छन् । घटना अनुसार गत साता शुक्रबार राति एक व्यक्तिले प्रहरीलाई आफ्नो साथीलाई आक्रमण गरी मारेको भन्दै खबर गरेका थिए । ति प्रत्यक्षदर्शीका अनुसार करिब ६ जनाको समूहमा आएका व्यक्तिहरुले ति श्रीलंकनलाई आक्रमण गरेका थिए । प्रहरी पुग्दा पेनफिल्डस्थित उनको घरको अघिल्तिर ति व्यक्तिको शव रगतमा डुबेको अवस्थामा भेटिएको थियो । घटना लगत्तै प्रहरीले ४४ वर्षीय व्यक्तिलाई डेभोरेन पार्कबाट, ३४ वर्षीयलाई नर्थफिल्डबाट र ४८ वर्षीय आरोपीलाई एलिजावेथ नर्थबाट पक्राउ गरेको थियो । सोमबार अदालत खुलेपछि पेश गरिएका उनीहरुलाई प्रहरी नियन्त्रणमा सोधपुछका लागि राख्न र आगामी मे महिनामा पुनः अदालतमा पेश गर्न आदेश दिइएको थियो । यसअघि मेलबर्नमा आफ्नो नाबालिक छोरी सहित मृत फेला परेकी नेपाली भनिएपनि उनी नेपाली मूलकी बर्मेली भएको पाइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?