अन्तर्राष्ट्रिय नारी दिवसमा मेलबर्नका दिदीबहिनी समाजको कार्यक्रम


अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपाली नारीहरुको संगठन दिदीबहिनी समाज भिक्टोरियाले अन्तर्राष्ट्रिय नारी दिवस शनिबार एक कार्यक्रमको आयोजना गरी मनाएको छ । स्थानीय ग्लेनरोयस्थित युनाईटिंग चर्चको हलमा गरिएको कार्यक्रममा सहभागीहरुले योगको जानकारीका साथै आफ्ना अनुभव साटासाट गर्ने र सांस्कृतिक प्रस्तुतिका माध्यमबाट आफुलाई व्यक्त गरेका थिए । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, मोरल्याण्ड सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसन सहभागी हुनुभएको थियो । अतिथिको आसनबाट बोल्दै महावाणिज्यदूत योञ्जनले लामो समयदेखि समाजले खेलेको भूमिका महिला उत्थानका लागि महत्वपूर्ण भएको धारणा राख्नुभयो । उहाँले नेपालमा महिला हक र अधिकारको लागि भएका विभिन्न संघर्षको जानकारी दिँदै अहिले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश लगायत महत्वपूर्ण संवैधानिक निकायमा महिला पुग्नु यसैको परिणाम भएको पनि बताउनुभयो । कार्यक्रममा उपस्थित मोरल्याण्ड सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसनले नेपाली समूदायका महिलाहरुको सक्रियताबाट खुशी लागेको धारणा राखेकी थिइन् । आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको थियो । कार्यक्रममा दुई बालिकाहरु वर्षा र सहाराले स्वागत नृत्य गरेका थिए । उक्त अवसरमा उपस्थितहरुलाई संस्थाकी अध्यक्ष जमुना पराजुलीले आफ्नो संघर्ष र यस वर्ष संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय नारी दिवसको क्रममा ल्याएको नाराका विषयमा जानकारी दिनुभएको थियो । यसैगरी दिदी रेवेन सिम्पसनले योगका विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो । साथै, काजल किरणसिंह भण्डारीले उपस्थितलाई योगका केही आसनहरुको अभ्यास गराउनुभएको थियो । अन्त्यमा प्रभा श्रेष्ठले धन्यवाद मन्तव्य दिनुभयो भने कार्यक्रमको सञ्चालन अञ्जना नेपालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?