ब्रिसबेनमा आयोजित सेफ्स पप अप डिनरले नेपाली खानाको नयाँ स्वरुप खुलायो


नेपालीहरु अष्ट्रेलियामा ठूलो संख्या हस्पिटालिटी क्षेत्रमा कार्यरत छन् । त्यसमा पनि रेष्टुरेन्टमा सेफका रुपमा काम गर्नेहरु धेरै छन् । पछिल्लो समयमा आफ्नै रेष्टुरेन्ट खोलेर समेत उनीहरुले अष्ट्रेलियामा आफुहरुलाई स्थापित गर्ने प्रयास थालेका छन् । यसै मेसोमा नेपाली सेफहरुले नेपाली परम्परागत खानालाई विदेशी शैलीमा पस्केर यहाँका स्थानीयको मन जित्ने प्रयास थालेका छन् । यसले अन्तर्राष्ट्रिय स्वाद पारखीहरुलाई छुट्टै अनुभव त दिएको छ नै नेपाली खानाको नयाँ बजार समेत खोज्ने प्रयत्न थालिएको छ । यसैक्रममा गत मंगलबार ब्रिसबेनको क्याफे ६३ मा सेफ्स पप अप डिनर आयोजना भयो । युनिग्लोब विजनेस ग्रुप र क्वीन्सफोर्ड कलेजको सहकार्यमा टु टेबल्स र क्याफे ६३ को आयोजनामा कार्यक्रम गरिएको थियो । उक्त अवसरमा एमएनटीभीसँग कुरा गर्दै सेफ शिशिर कँडेलले नेपाली मौलिक खानालाई ब्रिसबेनमा प्रबद्र्धन गर्न चाहेको बताएका थिए । उनले भने, “नेपाली खानालाई अष्ट्रेलियनले मन पराउने शैलीमा प्रस्तुत गरेका छौं ।” सिड्नीबाट आएका सेफ सुरज प्रधानले सिड्नीमा हुन लागेको फुड फेष्टिभलको पूर्वसन्ध्यामा ब्रिसबेनमा सेफ्स पपअप डिनर आयोजना गरेको जानकारी दिए । प्रधानले परिकारहरुलाई आधुनिकीकरण गरेको बताए । क्याफे ६३ का हेड सेफ अरुण पाण्डे र सेफ अविनाश पाण्डेले नेपाली सेफहरु किचेनमा मात्र सीमित छैनन् देश चिनाउने काममा पनि योगदान दिन सक्छन् भन्ने प्रमाणित गर्न कार्यक्रम सफल भएको धारणा राखे । क्याफेका सञ्चालकहरु प्रशान्त आचार्य, स्मार्ट उप्रेतीले पनि संगीतको साथमा नेपाली परिकारको मज्जा उपस्थितहरुलाई दिन सकेकोमा खुशी व्यक्त गरेका छन् । एमएनटीभीसँग कुरा गर्दै युनिग्लोब विजनेसका तर्फबाट रोशन कँडेलले नेपाली खानालाई फरक शैलीमा प्रस्तुत गरिएको र यसलाई उपस्थित अष्ट्रेलियनहरुले समेत रुचि र स्वादपूर्वक लिएको बताए । उक्त अवसरमा उपस्थित रहेका एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक अभिमानसिंह बस्नेतले नेपाली युवाहरुको सराहनीय काम भएको भन्दै प्रशंसा गरेका थिए । यस्तै क्वीन्सल्याण्डका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि स्वतन्त्रप्रताप शाहले सफल कार्यक्रम गरेकोमा आयोजकहरुलाई बधाई दिएका थिए । उनले भने, “नेपाल हिमालयको देश भनेर अष्ट्रेलियनहरुले चिन्छन् । स्वादिलो परिकारको देशका रुपमा पनि चिनाउने जमर्को उत्साहपूर्ण छ ।” क्वीन्सल्याण्डको नेपाली समूदायका अगुवा राजन कोइरालाले नेपाली खानालाई नयाँ शैलीमा सबैमाझ पस्केकोमा खुशी व्यक्त गर्नुभएको थियो । पप अप डिनरमा एनआरएन आईसीसी सदस्य ईश्वर कुँईकेल, एनआरएन क्वीन्सल्याण्डका सचिव सन्तोष कुँवर लगायत केही विदेशीहरु समेत उपस्थित थिए । उक्त अवसरमा कलाकार धिरज श्रेष्ठको टिमले तबेला बादन सहित नेपाली संगीत प्रस्तुत गरेको थियो ।

थप तस्वीर र लाईभ भिडियोका लागि हाम्रो फेसबुक पेज हेर्नुहोला । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?