राजविराज घटनाबारे जानकारी दिन एमालेले बृहत् भेला गर्ने


नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाकोे स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्दैछ । पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न र  घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा काठमाडौँ उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा÷ सङगठनका सदस्य र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । यसैगरी बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?