प्रहरीको गोली लागेर सप्तरीमा तीनजनाको मृत्यु, एमालेको अभियान तीन दिनका लागि स्थगित


सप्तरीको राजविराजमा एमालेको सभाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरुमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मृत्यु हुने प्रदर्शनकारीहरुमा सञ्चन मेहता, दिगम्बर यादव र पिताम्बर मण्डल रहेको बताइएको छ । एमालेको कार्यक्रम सकिए लगत्तै एमाले कार्यकर्ता र मधेशी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको थियो । विभिन्न ठाउँमा भएको झडपलाई नियन्त्रण गर्न खोज्दा पेट्रेल बम प्रहार हुन थालेको र गुलेलीले आक्रमण गर्ने क्रम सुरु भएपछि प्रहरीले फायर खोलेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनमा ३० जना घाइते भएको र अन्य ५ जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीतर्फ पनि ३० भन्दा बढी घाइते भएका छन् । एमाले कार्यकर्ताले चढेको मोटरसाईकल जलाएपछि मुठभेड सुरु भएको थियो । एमाले शीर्ष नेताहरु कार्यक्रम सकाएर कञ्चनपुरतर्फ जान खोज्दा प्रदर्शनकारीले उनीहरुलाई अवरोध गर्ने प्रयास गरेका थिए भने प्रहरीले उनीहरुलाई बाटोबाट हटाउँदा भागाभागको स्थिति आएको थियो । यसैबीच नेकपा एमालेले सरकारको आग्रहलाई ध्यान दिँदै तीन दिनका लागि मेचीकाली अभियानलाई स्थगित गरेको छ । शनिबार झापाबाट सुरु भएको एमालेको अभियान सप्तरी पुगेको थियो । तर, मधेशी मोर्चाको विरोध र यसलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी तीन जनाको मृत्यु भएपछि तीन दिनका लागि समिक्षा गर्ने भन्दै अभियान स्थगित गरिएको हो । स्थानीय रुपनगरमा बसेको एमाले स्थायी कमिटीको बैठकले तत्कालका लागि तीन दिन अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?