एक श्रीलंकनको हत्याको आरोपमा एडिलेडमा तीन नेपाली पक्राउ, केहीको खोजी हुँदै


अष्ट्रेलियाको दक्षिणी शहर एडिलेडको उत्तरमा रहेको पेनफिल्ड गार्डेन्समा एक ३९ वर्षीय श्रीलंकन मूलको व्यक्ति हत्याको आरोपमा तीन नेपालीमूलका व्यक्तिहरु पक्राउ परेका छन् । प्रहरीले हत्या गरेको आरोपी र हत्या भएका व्यक्तिको परिचय खुलाएको छैन । साउथ अष्ट्रेलियाको प्रहरीले हत्या भएका व्यक्तिको परिवारसँग श्रीलंकामा सम्पर्क गर्ने कोसिस भइरहेको जनाउँदै परिचय लुकाएको छ भने पक्राउ परेकाहरुसँग थप सोधपुछ गर्न र फरार रहेका केही थप व्यक्तिको खोजीमा बाधा पर्नसक्ने भन्दै हत्याको आरोप लागेका नेपालीमूलका व्यक्तिहरुको पनि परिचय दिएको छैन । दि एड्भर्टाइजरका अनुसार शुक्रबार राति एक व्यक्तिले प्रहरीलाई आफ्नो साथीलाई आक्रमण गरी मारेको भन्दै खबर गरेका थिए । ति प्रत्यक्षदर्शीले करिब ६ जनाको समूहमा आएका व्यक्तिहरुले ति श्रीलंकनलाई आक्रमण गरेका थिए । प्रहरी पुग्दा पेनफिल्डस्थित उनको घरको अघिल्तिर ति व्यक्तिको शव रगतमा डुबेको अवस्थामा भेटिएको थियो । घटना लगत्तै प्रहरीले ४४ वर्षीय व्यक्तिलाई डेभोरेन पार्कबाट, ३४ वर्षीयलाई नर्थफिल्डबाट र ४८ वर्षीय आरोपीलाई एलिजावेथ नर्थबाट पक्राउ गरेको थियो । सोमबार अदालत खुलेपछि पेश गरिएका उनीहरुलाई प्रहरी नियन्त्रणमा सोधपुछका लागि राख्न र आगामी मे महिनामा पुनः अदालतमा पेश गर्न आदेश दिइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?