मेलबर्नमा आज मम फेष्टिभल, ममसँगै नेपाली संगीतको मज्जा


मेलबर्नमा आज मम फेष्टिभल आयोजना भइरहेको छ ।  कोबर्गको भेलोड्रोमी ग्राउण्डमा भइरहेको मम फेष्टिभलमा प्रवेश निःशुल्क हुने आयोजक सोलाङचरले जनाएको छ । मम फेष्टिभलमा अष्ट्रेलियाको विभिन्न भागबाट सेफहरु आएका छन् । उनीहरुले ममका विविध परिकार पस्कने तयारी गरेका छन् । मम फेष्टिभलमा ममका विविध प्रकारसँगै कुटुम्बको संगीतको मज्जा पनि लिन सकिनेछ । कुटुम्ब नेपालकै प्रतिष्ठित व्याण्ड हो भने यसले नेपाली संगीतलाई विश्वस्तरमा प्रस्तुत गरिरहेको छ । मुख्यतः नेपाली धुनहरुका लागि व्याण्ड चर्चित छ । मेलबर्नका नेपाली कलाकारको बहुसांस्कृतिक प्रस्तुति पनि यहाँ समेटिनेछ । ” दर्शकहरुले जुन चासो देखाउनुभएको छ यसका लागि हामी आभारी पनि छौं ।” आयोजक सोलाङचरका राजु शाक्यले एमएनटीभीलाई बताए । शाक्यका अनुसार मम फेष्टिभलमा हरेक उमेर समूहका दर्शकहरुलाई मनोरञ्जन दिने भरपूर प्रयास हुनेछ । विभिन्न व्याण्डका प्रस्तुति, डीजे सेसन, मम कम्पिटीशन, फेस पेन्टिङ, बालबालिकाहरुको लागि खेल्ने ठाउँ आदि थप आकर्षण रहनेछन् । शाक्यले भने, “निःशुल्क कार्यक्रम भएपनि आफ्नो नाम दर्ता गर्नका लागि आह्वान गरेका थियौं । आह्वान गरेको छोटो समयमै ६ हजारभन्दा बढी दर्शकले नाम रजिष्टर गरेका छन् । ” कार्यक्रमबाट उठेको रकम गैरआवासीय नेपाली संघले नेपालको गोर्खा जिल्ला लाप्राकमा भूकम्प प्रभावितहरुको लागि निर्माण गर्न लागेको घर बनाउन खर्च गरिने पनि शाक्यले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?