भारतीय अर्थमन्त्रीले भने लगानीका लागि नेपाल राम्रो, महरासँग पनि भेट


भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा आजदेखि यहाँ सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उहाँले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताउनुभयो । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताउनुभयो । नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताउनुभयो । “शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो, “ हामी आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्छौँ ।”


लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहज रुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने जेट्लीको जोड थियो । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । उहाँले ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिन्छ भन्नुभयो । सम्मेलनमा भारत, चीन, ९हङ्कङ समेत०, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।

उपप्रधानमन्त्री महरा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने विषयमा भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग छलफल गर्नुभएको छ । दोस्रो लगानी सम्मेलनमा भाग लिन आज मात्रै यहाँ आइपुग्नुभएका जेट्लीसँग आज भएको भेटवार्तामा अर्थमन्त्रीले व्यापार घाटा घटाउन र लगानी अभिवृद्धिका विभिन्न आयामका बारेमा द्विपक्षीय कुराकानी गर्नुभएको हो । संविधान निर्माणपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेको र लगानीमैत्री वातावरण सिर्जना भएको भन्दै अर्थमन्त्री महराले नेपालको आर्थिक विकासका लागि भारत सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभएको उहाँका प्रेस विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो । अर्थमन्त्री महराले भारतीय मुद्राका कारण नेपाली लगानीकर्ता र आम नागरिकमा परेको समस्याको गाँठो तत्काल फुकाइदिनसमेत भारतीय समकक्षी जेट्लीलाई आग्रह गर्नुभएको थियो । अर्थमन्त्री महराको जिज्ञासाको जवाफमा भारतीय वित्तमन्त्री जेट्लीले व्यापार घाटा कम गर्न नेपालमा नै उद्योग स्थापना गर्न आग्रह गर्नुभयो । नेपाल र भारतका उद्योगी तथा व्यवसायीले संयुक्तरुपमा पनि उद्योग तथा व्यवसाय सञ्चालन गर्नसक्ने र त्यसमा आफूहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भारतीय मुद्राका कारण परेको समस्याप्रति भारत सरकार जानकार रहेको भन्दै उहाँले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकका उच्च अधिकारीले समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको थियो । गैरकानुनी गतिविधि नहोस् भन्नेतर्फ मात्रै भारत सरकारको चासो रहेको भन्दै शीघ्र समस्या समाधान गर्ने वचनसमेत भारतीय वित्तमन्त्रीले दिनुभएको थियो । भेटमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदीलगायत अर्थमन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?