कँडेल कन्सल्टेन्सी कप फुटबल २०१७ मार्च ११ बाट मेलबर्नमा, अष्ट्रेलियाभरका १६ टिम सहभागी हुने


अष्ट्रेलियाको प्रतिष्ठित यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्ने ९ ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मार्च ११ देखि मेलबर्नमा हुने भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको विषयमा जानकारी दिन मेलबर्नमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस प्रतियोगिताको प्रायोजन यस वर्षदेखि कँडेल कन्सल्टेन्सीले गर्ने भएको छ । यससँगै प्रतियोगिताको नाम कँडेल कन्सल्टेन्सी कप रहनेछ । प्रतियोगितामा अष्ट्रेलियाभरबाट १६ टिमले सहभागिता जनाउनेछन् । मेलबर्न ५, सिड्नी ५, डार्विन, पर्थ, एडिलेड, अल्बरी, तास्मानिया क्यानबेरा गरी १६ टिम उपाधिका लागि भिड्नेछन् । यस्तै ३५ वर्षमाथि उमेर समूहमा ८ टिमको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । मार्च ११ तारिखमा लिगका खेलहरु हुनेछन् भने १२ मार्चमा फाईनल खेलहरु सञ्चालन गरिनेछ । उक्त अवसरमा बोल्दै क्लबका प्रेसिडेन्ट बम गुरुङले मार्च ११ र १२ को दिन प्रतियोगितास्थलमा बालबालिकाहरुको लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिने बताए । क्लबका सल्लाहकार राज शर्माले यति क्लब प्रतियोगिताको लागि तयारी अवस्थामा रहेको भन्दै विगत चार वर्षदेखि प्रायोजन गर्ने मेल्बर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) लाई धन्यवाद दिएका थिए । यस प्रतियोगिताको म्याच कमिश्नर तोकिएका फिफा रेफ्री सज्जन शर्माले खेल भावना अनुसार सबै खेलाडी सहभागी हुने र सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सकिने आशा व्यक्त गरे । उनले भने, “सात वर्षदेखि सञ्चालन भइरहेको प्रतिष्ठित प्रतियोगितामा अष्ट्रेलियाभरका उत्कृष्ट खेलाडीहरु सहभागी हुनेछन् । रोमाञ्चक खेल हेर्न पाइनेछ ।” कार्यक्रममा उपस्थित मुख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेलले यति क्लबले आयोजना गर्ने प्रतिष्ठित प्रतियोगिताको मुख्य प्रायोजन गर्न पाउनु खुशीको कुरा भएको बताए । उनले भने, “हामी सिल्भर स्पोन्सर भइराखेको नाताले यस वर्ष यो अवसर मिल्यो, सल्लाह गरेर यसलाई स्वीकार्यौं । युवाहरुको सहभागिता हुने भएकोले खेलको माध्यमबाट हाम्रो समाजमा केही भएपनि योगदान दिनका लागि हामी अघि आएका हौं ।” पत्रकार सम्मेलनमा यति फुटबल क्लबका संस्थापक हरि गुरुङ, सचिव भरत राना, कोषाध्यक्ष सुदिप मास्के, मेनेजर कालु गुरुंग लगायत पदाधिकारीको उपस्थिति रहेको थियो । यति क्लबमा नेपालको राष्ट्रिय टोलीमा समेत खेलिसकेका खेलाडी पनि अनुबन्धित छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?