लुट २ को सेम डे अष्ट्रेलिया रिलिजमा लफडा, प्राविधिक गडबडीले आजबाट मात्रै प्रदर्शन सुरु, निश्चलले मागे माफी


गत शुक्रबारबाट नेपालमा प्रदर्शन आरम्भ गरिएको लुट २ चलचित्रको अष्ट्रेलिया प्रदर्शनमा प्राविधिक समस्या देखिएपछि दर्शकहरुले दुःख पाएका छन् । एक महिना अगाडिदेखि बुकिंग गरेर बसेका सिड्नीका दर्शकहरु अन्तिम समयमा चलचित्र प्रदर्शन हुन नसकेपछि आक्रोशित बनेका थिए । शुक्रबार सिड्नीको जर्जस्ट्रीटस्थित ईभेन्ट सिनेमामा प्रदर्शनको समय मिलाइए पनि प्रदर्शन हुन सकेन । शनिबार बरउडको ईभेन्ट सिनेमामा देखाउने भनिएको चलचित्रको शो पनि एक घण्टा अघि रद्द गरिएको खबरले उनीहरु समस्यामा परे । अष्ट्रेलियाको वितरण जिम्मा लिएको हो र होइन होला ईभेन्टले शुक्रबार दर्शक हलमा आइसकेको अवस्थामा शो रद्द गर्नुपरेको थियो । ईभेन्ट कम्पनीका रोशन भट्टराई भन्छन्, “हाईलाईट्स नेपालले सम्झौता उल्लंघन गरेको छ । सिनेमा प्रदर्शनको पाँच दिन अघिबाट प्रयास गरिएपनि अन्तिम समयसम्म चलचित्रको फाईल चल्न सकेन ।” हाईलाईट्स नेपालका निर्देशक ओम गुरुंग पनि कमी कमजोरी भएको स्वीकार गर्दछन् । तर, उनी यसको कारण भने यसअघि अष्ट्रेलियाबाट आफ्ना दुई सुपरहिट चलचित्रहरुको पाईरेसी भएका कारण अपनाइएको थप सुरक्षाले यस्तो अवस्था आएको स्पष्टीकरण दिन्छन् । गुरुंगका अनुसार यस पटक चलचित्र लुट २ पठाउँदा थप सुरक्षाका उपायहरु अपनाइएको थियो । यिनै प्राविधिक कुरालाई बुझाउन नसक्दा यस्तो भएको हो ।
अबको शो के हुन्छ ?
हाईलाईट्स नेपालका निर्देशक ओम गुरुंगका अनुसार आज २६ तारिख आईतबारदेखिका शोहरु यथावत सञ्चालन हुनेछन् । पर्थको शोका लागि पठाइएको फाईल हलमा नै परीक्षण गरिसकिएको छ भने डीसीपी फाईल नेपालबाट पनि पठाइएको छ । “अवस्था यस्तो छ कि हामीले हलमा आफैंले गएर डीसीपी कपी गरिदिनुपर्ने हुन्छ ।” गुरुंगले भने । मेलबर्नमा आज साँझ साँझ चाईना टाउनस्थित सिनेमा हलमा प्रदर्शन गर्न लागिएको लुट २ को शो भने यथावत रहेको यसको मेलबर्नमा प्रदर्शन जिम्मेवारी लिएको नेप्ले ईभेन्टले जनाएको छ । नेप्ले ईभेन्टका सञ्जय साहका अनुसार हलमा चलचित्रको परीक्षण भइसकेको छ । साथै, नेपालबाट पठाइएको डीसीपी फाईल पनि व्याकअपको रुपमा ल्याउने तयारी गरिएको छ ।
सिड्नीका दर्शकहरुको रकम के हुन्छ ?
हाईलाईट्स नेपालका निर्देशक ओम गुरुंगले सिड्नीमा प्रदर्शन नभएका कारण दुःखी बनेका दर्शकहरुलाई रकम फिर्ता गरिदिने र उनीहरुको लागि अलग्गै निःशुल्क शोको समेत व्यवस्था गर्ने बताएका छन् । उनी भन्छन्, “हामी दर्शकहरुको समस्यालाई बुझ्छौं । उहाँहरुको समय अमूल्य हो । तर, प्राविधिक गडबडी हुन सक्छ । यसैकारण उहाँहरुको रकम फिर्ता गरेर उहाँहरुले बुकिंग गरेको आधारमा निःशुल्क हेर्न पाउने व्यवस्था गर्ने तयारी हामीले गरेका छौं ।” तर, हो र होइन होला ईभेन्टसका रोशन भट्टराई भने दर्शकहरुको पैसा फिर्ता गरिने तर, अर्को निःशुल्क शोको विषयमा भने निर्णय भइनसकेको बताउँछन् ।
निश्चलले मागे माफी
अष्ट्रेलियामा सेम डे रिलिजको तयारी गरिएको लुट चलचित्रको प्रदर्शनमा समस्या देखिएपछि यसका निर्देशक निश्चल बस्नेतले एक भिडियो सार्वजनिक गर्दै आम दर्शकहरुसँग माफी मागेका छन् । उनले प्राविधिक समस्यालाई समाधान गर्नका लागि हरसम्भव प्रयास भइरहेको भन्दै यसबाट पर्न गएको असुविधाको लागि माफी माग्दछु भनेका छन् । उनले नेपाली चलचित्रलाई सदाझैं माया प्राप्त हुने अपेक्षा पनि गरेका छन् ।
चलचित्र प्रदर्शनको बेला नायिका ऋचा शर्मा पनि अष्ट्रेलिया आउने भनिएको थियो । तर, उनको भ्रमण पनि अन्तिम समयमा आएर रद्द भएको थियो । उनले आफ्नो व्यक्तिगत कारणले गर्दा अष्ट्रेलियाका दर्शकहरुसँग बसेर चलचित्र हेर्ने अवसर गुमाएको भन्दै भिडियो पोष्ट गरेकी थिइन् ।
समग्रमा चलचित्रको बढ्दो पाइरेसीबाट आजित बनेको हाईलाईट्स नेपालले सुरक्षाका थप उपायहरु अपनाउँदै सर्भरबाटै कोड जेनेरेट गरी त्यसैका आधारमा वितरण गर्दा यस्तो समस्या देखिएको छ । सैयौं दर्शकहरुको उत्साह र उनीहरुको भावनाको विचार गरेर कुनै गडबडी आए अपनाउन सकिने दोश्रो उपायको तयारी हुन नसक्दा दर्शक र प्रदर्शक समस्यामा परेको देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?