सिड्नीमा एनआरएनबाट अभिभावकहरुको लागि पिकनिक आयोजना, ९४ वर्षका जेष्ठ अभिभावक पनि सहभागी


अघिल्लो पटकको भव्यतालाई कायम राख्दै एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा शनिबार अभिभावकहरुको निम्ति पिकनिक आयोजना भएको छ । स्थानीय वारागम्बा ड्याममा भेला भएका अभिभावकहरुको संख्याले समेत नयाँ रेकर्ड बनाएको छ । ११ वटा गाडी र ३० वटा निजी कारमा पिकनिकस्थलमा पुगेका उनीहरु ८ सयको संख्इामा रहेको कार्यक्रमका संयोजक कृष्ण निरौलाले जानकारी दिए । निरौला भन्छन्, “विगतका कमी कमजोरीलाई सच्याउँदै विगतभन्दा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ भन्ने अपेक्षा छ ।” उनी औपचारिक कार्यक्रमको सञ्चालक समेत थिए । अभिभावकहरुको सहभागिता र संलग्नतामा चलेको कार्यक्रममा उनीहरु विभिन्न सांगीतिक प्रस्तुति, अध्यात्मिक प्रवचन र जानकारीमूलक कार्यक्रमहरुमा रमाएका थिए । औपचारिक कार्यक्रमको सभापतित्व न्यूसाउथवेल्सका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले गरेका थिए भने अतिथिको रुपमा ईन्द्रा वन, नारायण प्रधान, डा. दामोदर पोखरेल, आचार्य राजन सापकोटा उपस्थित थिए ।
कार्यक्रमको प्रमुख आतिथ्यता एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले गरेका थिए । यस पिकनिकमा विभिन्न सिलसिलामा अष्ट्रेलिया आएका अभिभावकहरुको मिलाप त छँदैथियो ९४ वर्षका बृद्ध अभिभावकले स्वयंसेवकहरुलाई प्रशंसापत्र र प्रमाणपत्र प्रदान गरेको दृश्य वास्तवमै लोभलाग्दो थियो । पिकनिकमा सहभागी हुन आउनुभएका ९४ वर्षीय कृष्णदत्त सदौलाले स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमका अभिभावकहरुको तर्फबाट बोलदै केशव रेग्मी र रामचन्द्र न्यौपानेले एनआरएनलाई आशिर्वाद दिनुभएको थियो । यस्तै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै उहाँहरुले धेरै साथीभाईलाई भेट्न पाउँदा अत्यन्त हर्षित बनेको बताउनुभएको थियो । कार्यक्रममा आचार्य राजन सापकोटाले शान्तिको मार्ग, मोक्षको प्राप्ति र दैनिक जीवनमा योगको महत्वका विषयमा आफ्नो प्रस्तुत दिएका थिए । प्रमुख अतिथि एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बुबाआमाको सेवा गर्न पाउनुजस्तो धर्म अरु केही नभएको भन्दै उहाँहरुको मुहारमा देखिएको मुस्कानले थप काम गर्ने ऊर्जा मिलेको बताएका थिए । कार्यक्रमको सभापतित्व गरेका उपाध्यक्ष दिनेश पोखरेलले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै अभिभावकहरुको सेवा गर्ने यो पावन अवसरलाई अन्य क्षेत्रमा समेत निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो । नेपाल महोत्सवको बेला अभिभावकहरुको लागि निःशुल्क खानाको व्यवस्था गर्ने, अघिल्लो वर्ष यस्तै पिकनिकको आयोजना गर्ने, भाषा कक्षाहरु सञ्चालन गर्ने लगायतका कार्यमा एनआरएनले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । अष्ट्रेलियामा आएर यतै बसोबास गरेका अभिभावकहरुका साथै आफ्ना विद्यार्थी छोराछोरीलाई भेट्न छोटो समयका लागि आएका अभिभावकहरुसम्मलाई यहाँ विरानो महसूस हुन नदिन एनआरएनले खेलेको भूमिकाको अभिभावकहरुले प्रशंसा एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?