हाम्रो कलेजको प्रशंसनीय काम, विद्यार्थीलाई समुद्रमा सुरक्षाबारे तालिम


सिड्नीमा सञ्चालित हाम्रो ईन्ष्टिच्युट अफ विजनेश टेक्नोलोजी हाम्रो कलेजले विद्यार्थीहरुको लागि समुद्रमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम सञ्चालन गरेको छ । पहिलो पटक सञ्चालित यस किसिमको तालिम समुद्री तटमा नै पुगेर प्रत्यक्ष रुपमा दिइएको थियो । अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरु विभिन्न समुद्री दुर्घटनामा परेर, डुबेर ज्यान गुमाउने क्रम बढेपछि कलेजले यस्तो तालिम सञ्चालन गरेको हो । पहिलो चरण अन्तर्गत करिब ४० विद्यार्थीलाई समुद्री किनारामा अपनाउने सुरक्षा, समुद्रमा पौडी खेल्नुपूर्व अपनाउनुपर्ने सावधानी लगायतका विषयमा तालिम दिएको हो । कलेजका संस्थापक दिपक खनालले भन्नुभयो, “अघिल्लो वर्षदेखि नै हामीले हाम्रो कलेजमा पढ्न आउने विद्यार्थीहरुलाई सचेतना जगाउने योजना बनाएका थियौं । हाम्रा विद्यार्थीलाई ज्ञान दिउँ भन्ने हिसाबले यस्तो तालिम सञ्चालन गरेका हौं । हाम्रो देश भूपरिवेष्ठित मुलुक हो । हाम्रो विद्यार्थीहरु यहाँ आउने वित्तिकै समुद्रले आकर्षण गर्दछ । उनीहरु त्यतै घुम्न जान्छन् र सानो गल्तीको ठूलो मूल्य चुकाउनु परेको हामीले देखेका छौं ।” यति मात्र होइन हाम्रो कलेजले भिडियोको माध्यमबाट विद्यार्थीहरुलाई जानकारी दिने तयारी पनि थालेको छ । विद्यार्थीहरुलाई ओसियन फिटकी सिनियर प्रशिक्षक लिया ट्रिबिलिककले जानकारी दिएकी थिइन् । खनाल भन्छन्, “तालिम पछि मैले पनि धेरै जानकारी पाएँ ।”
तालिमका क्रममा समुद्रको किनार, ताल र नदीमा कसरी सुरक्षित रहने, छालले निम्त्याउनसक्ने खतराको आंकलन गर्ने तरिका, लाईफगार्डहरुको भूमिका, पानीमा डुबेको अवस्थामा के गर्ने ? पौडी खेल्नका लागि कहाँ तालिम लिने ? आदि विषयमा चरणबद्ध रुपमा प्रकाश पारिएको थियो । पछिल्लो समय पानीमा डुबेर नेपाली विद्यार्थीहरुले ज्यान गुमाउने क्रम बढेसँगै यस किसिमको तालिम अष्ट्रेलिया आउने सबै विद्यार्थीले अनिवार्य लिनैपर्ने देखिएको छ । पछिल्लो क्रममा अष्ट्रेलियामा अध्ययनका लागि आएकी विद्यार्थी श्रृष्टि भण्डारी र सुदिप उप्रेतिले फेब्रुअरी १३ तारिखका दिन समुद्री किनारामा भएको दुर्घटनामा ज्यान गुमाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?