अष्ट्रेलियामा आईतबार र सार्वजनिक बिदामा काम गर्दा पाइने अतिरिक्त रकम कटाउने फेयर वक्र्स कमिशनको निर्णय


साप्ताहिक बिदाको दिन आईतबार काम गर्ने हजारौं अष्ट्रेलियनहरुलाई असर पार्दै यहाँको राष्ट्रिय निकाय फेयर वक्र्स कमिशनले बिहीबार सार्वजनिक बिदा र आईतबारको बिदाका दिन काम गर्दा पाइने अतिरिक्त रकमलाई कम गर्ने निर्णय गरेको छ । खुद्रा व्यापार, फाष्टफुड, हस्पिटालिटी र फार्मेसी उद्योगमा कार्यरत रहनेहरुको अतिरिक्त कमाई अब घट्ने भएको छ । यसबाट मुख्यतः अन्तर्राष्ट्रिय विद्यार्थीहरु र आप्रवासी कामदारहरु बढी प्रभावित हुने देखिएको छ । विद्यार्थीहरु अन्य दिन पढाई गर्ने र शनिबार, आईतबार वा सार्वजनिक बिदाका दिनमा काम गरेरै मनग्गे आम्दानी गर्ने गर्दथे । यसमा अब केही कमी आउने भएको छ । उनीहरुले एक दिन काम गरेको नै दुई दिन काम गरे बराबरको तलब पाउने गर्दथे । आगामी जुलाई महिनादेखि लागू गर्ने तयारी गरिए अनुसार अब रिटेल क्षेत्रमा काम गर्ने पार्ट टाईम कामदारलाई दिँदै आएको २०० प्रतिशतबाट घटाएर १ सय ५० प्रतिशत मात्र बनाइने भएको छ भने क्याजुअलहरुको २०० प्रतिशतबाट १ सय ७५ बनाइनेछ । हस्पिटालिटीका कामदारहरुको १ सय ७५ बाट घटाएर १ सय ५० प्रतिशत बनाइनेछ क्याजुअलहरुको भने अहिलेकै कायम रहनेछ । फाष्टफुडमा पार्ट टाईम काम गर्नेहरुको १ सय ५० प्रतिशतबाट घटाएर १ सय २५ प्रतिशत मात्र बनाउने अहिलेको नयाँ नियममा छ । यस्तै क्याजुअलको २ सय प्रतिशतबाट घटाएर १ सय ७५ बनाइनेछ । यसको विरोध पनि सुरु भइसकेको छ । अष्ट्रेलियन ट्रेड युनियन परिषदका अध्यक्ष जेड केयर्नी भन्छन्, “यो लगू हुन गाह्रो छ । यसले कामदारहरुलाई मर्कामा पार्नेछ । यी क्षेत्रमा लगानी गर्नेहरुले कमाइरहेका छन् तर कामदारलाई भने कम पैसा दिने कुरा स्वीकार्य हुन सक्दैन ।” उनले भनिन् “हामी यस्तो निर्णय स्वीकार्न सक्दैनौं ।” विपक्षी दल लेबर पार्टीका नेता बिल सोर्टनले पनि यसको विरोध गरेका छन् । “बेरोजगारीको दर बढिरहेको र तलबको बृद्धिदर पनि न्यून रहेको बेला अझै यस्तो निर्णय आउनु दुःखद कुरा हो”, उनले भने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?