भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनको स्थापना, १९ मार्चमा जिलोङमा सुपर सिक्स क्रिकेट प्रतियोगिता गर्ने


अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समूदायबीच क्रिकेटको एकीकृत विकास गर्न  भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन भीएनसीएको गठन भएको छ । मेलबर्नमा क्रिकेटको विकास र नेपाली क्रिकेटरहरुलाई राष्ट्रिय तहसम्म खेल्ने अवसर सिर्जना गर्नका लागि संगठित प्रयास थालिएको हो । क्रिकेटलाई हेर्ने छुट्टै निकाय नहुँदा विभिन्न सामूदायिक संघ संस्थाको भर पर्नुपरेको र यसले सोचेजस्तो सफलता नमिलेको भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनको संस्थापकमध्येका एक अभिषेक केसीले जानकारी दिए । संस्थाको पूर्ण रुप केही दिनमा नै सार्वजनिक गर्ने र आगामी मार्च १९ तारिखका दिन जिलोङमा सुपर सिक्स क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको पनि केसीले बताए । यस अभियानका लागि अभिषेक केसीसहित यशवन्त सुवेदी, विवेक श्रेष्ठ लगायतका युवाहरु जुटेका छन् । “भिक्टोरियामा भइरहेको नेपाली क्रिकेट गतिविधि सन्तोषजनक छ । तर, यसलाई अर्को तहसम्म लैजानका लागि छुट्टै निकायको आवश्यकता हामीले महसूस गरेका हौं”, केसी भन्छन् । अन्य विभिन्न समूदायले क्रिकेटमा गरिरहेको प्रगतिले पनि छु्ट्टै क्रिकेटको संस्था खोल्न अभिप्रेरित गरेको देखिन्छ । भारत, पाकिस्तान लगायत विभिन्न देशबाट भिक्टोरियामा आई बसोबास गर्नेहरुले छुट्टै क्रिकेटको संस्था बनाई संगठित रुपमा आफुहरुलाई प्रतियोगिताहरुमा सामेल गराइरहेका छन् ।
यसैबीच, भिक्टोरियामा नेपाली क्रिकेटको विकासका लागि एशोसिएसन बन्नु खुशीको कुरा भएको नेप्लीज क्रिकेट एशोसिएसन अफ अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत रुपक चुँडालले प्रतिक्रिया दिएका छन् । उनले भने, “न्यूसाउथवेल्सको क्रिकेटको विकासबाट पनि हामीले छुट्टै निकायको निर्माण अष्ट्रेलियन क्रिकेटको मूलधारमा नेपाली क्रिकेटरहरुलाई प्रवेश गराउनका लागि सहयोगी हुने अनुभव प्राप्त गरिसकेका छौं । भिक्टोरियामा पनि क्रिकेटका गतिविधि सञ्चालन गर्न छुट्टै संस्था बन्नु राम्रो कुरा हो”, चुँडालले भने । भिक्टोरियामा क्रिकेट एशोसिएसन निर्माणमा संयोजनकारी भूमिका निवौह गर्नेमध्येकै एक यशवन्त सुवेदी पनि खेलाडीहरुलाई व्यस्त राख्न पनि निरन्तर प्रतियोगिताहरु सञ्चालन हुनुपर्ने बताउँछन् । उनी भन्छन्, “हामी हाम्रा केटाहरुलाई सकेसम्म व्यस्त बनाउन चाहन्छौं, उनीहरुको खेलस्तर यही व्यस्तताले नै बढ्ने हाम्रो विश्वास छ ।” संस्थाले केही दिनमै सल्लाहकारसहितको कार्यसमिति सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?