नेपाली चित्रकलाको प्रदर्शनी एडिलेडमा, दुई सातासम्म चल्ने


चित्रकार ग्यालेरीले नेपाली चित्रकलाको प्रदर्शनी साउथ अष्ट्रेलियाको एडिलेडमा गरेको छ । दुई सातासम्म चल्ने यो प्रदर्शनीमा करिब ५० वटा चित्रहरु समावेश गरिएको छ । प्रदर्शनीको उद्घाटन साउथ अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दिपक धमलाले गरेका थिए । प्रदर्शनी शुभारम्भका क्रममा बोल्दै महावाणिज्यदूत धमलाले मेलबर्नको सफल प्रदर्शन पश्चात एडिलेडको दि गुर्खाज रेष्टुरेन्टमा गरिएको प्रदर्शनी सफल होस् भन्ने कामना गरेका थिए । उनले कार्यक्रममा उपस्थिति थोरै भएपनि यो गुणस्तरीय रहेको बताएका थिए । एक घर एक चित्रकलाको नारा दिएर चित्रकार ग्यालरीले प्रदर्शनीलाई विभिन्न शहरमा लैजानेक्रममा एडिलेडमा प्रदर्शनी गरिएको यसका निर्देशक अरुण चित्रकारले जानकारी दिएका छन् । उनी भन्छन्, “उद्घाटनकै दिन पनि अर्डरहरु आयो । हामीले व्यापार मात्र होइन नेपाली कलाको वास्तविक प्रबद्र्धन अष्ट्रेलियामा होस् भन्ने चाहेका हौं ।” चित्रकलाको प्रदर्शनीसँगै नेपालमा पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण योजनाको तयारीमा पनि आफुहरु रहेको र आगामी दिनमा यस विषयमा थप जानकारी अष्ट्रेलियावासी नेपालीले पाउने पनि चित्रकारले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?