धुर्मुस सुन्तली आज स्वदेश फर्कदै, अष्ट्रेलियाबाट ८२ हजार डलर सहयोग जुट्यो


नेपालमा भूकम्प पीडितहरुको लागि एकीकृत वस्ती निर्माण गरेका चर्चित हाँस्य जोडी धुर्मुस सुन्तलीले बर्दिबासका मुशहरहरुको लागि बनाउन लागेको घर निर्माणको निम्ति अष्ट्रेलियाबाट ८२ हजार डलर सहयोग जुटेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले दिएको जानकारी अनुसार अष्ट्रेलियाका विभिन्न शहरमा गरिएको धुर्मुस सुन्तली साँझसँगै मुशहर वस्ती निर्माणका लागि उक्त रकम जुटेको हो । कार्यक्रमका लागि सीताराम कट्टेल र कुञ्जना घिमिरेका साथ कलाकार दिपक आचार्य र गायक भरत सिटौला पनि अष्ट्रेलियामा छन् । आजै साँझ स्वदेश फर्कने तयारी छ । करिब २२ दिनको अष्ट्रेलिया भ्रमणको सुरुवात सिड्नीबाट भएको थियो । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा ठूलो संख्यामा दर्शक उपस्थित मात्र भएनन त्यहाँ २५ हजार डलर सहयोग जुटेको थियो । सिड्नीको कार्यक्रमको संयोजन प्रदिप चापागाईं, रोशन आचार्य र सन्दिप अधिकारीले गरेका थिए । यसैगरी एडिलेडबाट दिपक लामा र अशोक केसीको संयोजकत्वमा १५ हजार डलर सहयोग जुटेको थियो । मेलबर्नमा आयोजना गरिएको धुर्मुस सुन्तली साँझको संयोजन कृष्णप्रसाद न्यौपानेले गरेका थिए भने मेलबर्नमा २३ हजार डलर सहयोग संकलन भएको थियो । यस्तै ब्रिसबेनको कार्यक्रमको संयोजन सुन्दर क्षेत्रीले गरेका थिए भने ब्रिसबेनबाट मुशहर बस्ती निर्माणका लािग १९ हजार डलर सहयोग जुटेको छ । धुर्मृस सुन्तलीले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव सेवाको यो कार्यमा अष्ट्रेलियावासी नेपालीले देखाउनुभएको सद्भावप्रति जीवनभर आभारी रहने बताएका छन् । एमएनटीभीसँग कुरा गर्दै कट्टेलले भने, “आफ्नै परिवारसँगै बसेको जस्तो भयो ।  हामी मिलेर नै देश बनाउन सक्छौं । सानो सानो परिवर्तन गर्दै अघि बढ्ने हो भने देशको मुहार फेर्न पक्कै सकिन्छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?