लाप्राकमा घर बनाउनका लागि एनआरएनलाई अष्ट्रेलियाबाट ५० लाख सहयोग हस्तान्तरण


एनआरएनले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्तीका लागि एनआरएन अष्ट्रेलियाले थप ५० लाख सहयोग गरेको छ । सिड्नीमा भएको प्रथम उद्यमी सम्मेलनको क्रममा उक्त रकमको चेक एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले आईसीसी अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका छन् । उद्यमी सम्मेलनमा सफलताको सूत्र बाँड्न आइपुगेका घलेलाई एनआरएन अष्ट्रेलियाले सहयोग राशी दिएको हो । भूकम्प पछि पुननिर्माणका लागि गैरआवासीय नेपालीले संकलन गरेको सहयोगमध्ये अष्ट्रेलिया सबैभन्दा बढी सहयोग गर्ने एनसीसी हो । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष घलेले पुननिर्माणका लागि अष्ट्रेलियाको सहयोग अतूलनीय रहेको भन्दै अझै स्वयंसेवकका रुपमा धेरैभन्दा धेरै अष्ट्रेलियावासी नेपाली सहभागी भएर सहयोगलाई सार्थकता दिन आह्वान गरे । उनले भने “हामीले आँट गरेर लाप्राकवासीलाई ढिलै भए पनि व्यवस्थित आवास उपलब्ध गराउने जमर्को गरेका छौं यसमा नेपाली सेनाले पनि १ सय ५० जना आफ्ना जवानहरु खटाउने निर्णय गरेको छ । सशस्त्र प्रहरीले पनि सहयोग गर्ने वचन दिएको छ ।” घलेका अनुसार पुननिर्माणका लागि एक लाख स्वयंसेवी आवश्यक भएको र ४ सय जनाले ८ महिनासम्म काम गरेमा सोचिएको समयमै निर्माण गरी हस्तान्तरण गर्न सकिने बताए । उद्यमी सम्मेलनको सभापतित्व गरेका एनआरएन अष्ट्रेलियाका अध्यक्ष सिग्देलले अष्ट्रेलिया एनसीसीको पहिचान पनि कायम हुने गरी यसलाई सदुपयोग गर्न आफुले विगतमा पनि आग्रह गर्दै आएको बताएका थिए । कार्यक्रममा लाप्राकवासीले सहयोगका लागि अपिल गरेको भिडियो पनि प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?