सुरु भयो सिड्नीमा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन


एनआरएन अष्ट्रेलिया र अष्ट्रेलिया नेपाल विजनेस काउन्सिलको आयोजनामा सिड्नीमा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन सुरु भएको छ । सम्मेलनमा अष्ट्रेलियाभर रहेका नेपाली व्यापारी र उद्यमीहरुले आफ्नो सफलताको अनुभव बाँड्दैछन् । कार्यक्रमको उद्घाटन न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन संरक्षक ईन्द्रा वन, अष्ट्रेलिया नेपाल विजनेस काउन्सिलका अध्यक्ष मन केसी, एनआरएन ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनका पूर्वअध्यक्ष गोवा कटवाल र कार्यक्रम संयोजक डिला खरेलले संयुक्त रुपमा सम्मेलनको सुरुवात गरेका थिए । सामूहिक रुपमा सम्मेलनको व्यानर डिस्प्लेसँगै नेपाल र अष्ट्रेलियाको राष्ट्रिय धूनबाट कार्यक्रम सुरुवात गरिएको हो । स्थानीय रिट्ज होटलमा चलिरहेको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं अष्ट्रेलिया नेपाल विजनेस काउन्सिलका अध्यक्ष मन केसीले स्वागत गर्नुभएको छ । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सचिव टोनु घोतानेले गरिरहेका छन् । करिब एक दर्जनभन्दा बढी व्यक्तित्वहरुले आफ्नो प्रस्तुति दिनुहुने तय भएको छ जसमा अष्ट्रेलियामा सफल व्यवसायी एवं एनआरएन अध्यक्ष शेष घलेपनि यही सम्मेलनमा सहभागी हुनका लागि नेपालबाट आउँदैछन् । कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोद श्रेष्ठ पनि सिड्नीमा छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?