सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति, समर्थक पनि पक्राउ


राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उहाँविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ । गत माघ ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उहाँमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई हिजो बिहीबार जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो । राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । तर उहाँ धरौटीमा छुटेका थिए ।
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ ।
डा राउतका एक्काइस समर्थक पक्राउ
डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई इप्रका लहानमा राखिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले छाड्ने वा मुद्दा लगाउने विषयमा अहिले के भन्ने निक्र्यौल भइनसकेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । डा राउतको समर्थनमा थप जुलुस प्रदर्शन गर्न नदिन लहानमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । गत माघ ५ गते लहानमा भएको बलिदानी दिवसको सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार राज्यविरुद्ध अपराधको आरोपमा राउतलाई जनकपुरबाट पक्राउ गरी आजै सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?