भिक्टोरियाको महावाणिज्यदूतको कार्यालयमा धुर्मुस सुन्तलीसहित कलाकारको सम्मान


भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयमा हाँस्य कलाकार जोडी सीताराम कट्टेल, कुञ्जना घिमिरे धुर्मुस सुन्तली, बांगे बाका रुपमा चर्चित दिपक आचार्य र गायक भरत सिटौलासहित सिड्नीको चर्चित डान्स ग्रुप द नेक्स्टका कलाकारलाई स्वागत सम्मान गरिएको छ । मंगलबार महावाणिज्यदूतको कार्यालय मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले कलाकारहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले आफुहरुले पछिल्लो समय बनाउन लागेको मुशहरहरुको घर निर्माणमा मेलबर्नवासीले देखाएको सद्भावप्रति आभार व्यक्त गरेका थिए । उनीहरुले बर्दीबासमा निर्माणाधीन भवनहरुको २० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी पनि गराएका थिए । उक्त अवसरमा बोल्दै महावाणिज्यदूत योञ्जनले भूकम्प पीडितका लागि अष्ट्रेलियाबाट ठुलो रकम एनआरएन, नेपाल सरकारमार्फत नेपाल पठाइएको जानकारी गराउनुभएको थियो । साथै व्यक्तिगत रुपमा आफुले पनि भूकम्प पीडितहरुको राहतका लागि सहयोग गरेको भन्दै योञ्जनले धुर्मुस सुन्तलीले थालेको यो अभियानमा एक लाख रुपैयाँ सहयोग गर्ने बताउनुभयो । योञ्जनले धुर्मुस सुन्तलीलाई मेलबर्नमा बोलाएर मनोरञ्जनात्मक कार्यक्रमका साथै परोपकारी कार्यमा सहभागी हुने अवसर प्रदान गरेकोमा सहयोगी हात समूह मेलबर्नलाई धन्यवाद पनि दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?