भारतीय विदेशमन्त्रीले भनिन्, हामी पुननिर्माणमा साथ छौं


Indian External Affairs Minister Arrives

Indian External Affairs Minister Arrives
Indian External Affairs Minister Arrives

भारतका विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पपछिको पुनःनिर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बताउनुभएको छ । बाह्य सहायता जुटाउने उद्देश्यले भोलि यहाँ आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारत सरकारको प्रतिनिधित्व गर्दै आउनु भएका उहाँले विमानस्थलमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै विपद्को विषम परिस्थितिमा पनि नेपाली जनताले आफ्नो राष्ट्रको पुनःनिर्माणमा प्रस्तुत गरेको जुझारु प्रतिबद्धताबाट आफू उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत एक वर्षयताको तेस्रो पटकको काठमाडौँ भ्रमणको क्रममा म भारत सरकार र जनताका तर्फबाट नेपाल सरकार र यहाँका जनतामा वैशाख १२ को भूकम्पका कारण भएको विनाश र मृत्युप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।” सम्मेलनका क्रममा नेपालका नेतृत्व वर्गसँग फलदायी वार्ता हुने विश्वास व्यक्त गर्दै भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नेपाल सरकार र जनतालाई तत्काल राहत तथा उद्धार सहयोग प्रदान गर्न आफ्नो देशले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । आठ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सविच शङ्करदास वैरागी, नेपालका लागि भारतीय राजदूत रणजीत राय, उक्त मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]