सुक्खा पहिरो खस्दा जिलेटिन विस्फोट, ब्यारेक पुरिँदा नौ सैनिक घाइते


army1 (2)दोलखाको लामाबगर गाविस–३, तल्लोटोलमा नेपाली सेनाको आधार शिविर रहेको स्थानमा सुक्खा पहिरो जाँदा तामाकोसी आयोजनाको सुरुङ बनाउन प्रयोग हुने जिलेटिन विस्फोट भएको छ ।सुक्खा पहिरो जाँदा कन्टेनरमा भएको जिलेटिन पड्केको हो । पहिराको कारण ब्यारेक पुरिँदा त्यहाँ रहेका नौ नेपाली सैनिक सामान्य घाइते भएका छन् । सो घटनाको सैनिक प्रवक्ता जगदीश पोखरेलले पुष्टि गर्नुभएको छ । विस्फोटको आवाजले नजिकै रहेको प्रहरीको कार्यालय र केही स्थानीयवासीको घरको सिसा फुटेको बताइएको छ । विस्फोटबाट नेपाली सेनाको अस्थायी आधार शिविर पूर्ण रूपमा क्षति हुनाका साथै नजिकै रहेको भारतीय ठेकेदारको शिविर पनि पुरिएको छ । कति टन जिलेटिन विस्फोट भएको हो भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरीले जनाएको छ । नजिकै रहेको डिभिजन सडक कार्यालयको जिलेटिन भने सुरक्षित स्थानमा सारिएको बताइएको छ । पानी परेर जाने पहिरासँगै सुक्खा पहिराको पनि त्यत्तिकै भएको प्रजिअ देवेन्द्र लामिछानेले बताउनुभयो । स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले तत्काल पुनःस्थापना गर्न सुरु गर्नुपर्नेमा जोड दिनुभयो । भीमेश्वर नगरपालिका–१३ साखिने नजिकै पहिरो जाँदा करिब आठ घन्टा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर अस्थायी रूपमा बाटो खुलाइए पनि सडक जीर्ण भएको स्थानीयवासी हरिबोल बस्नेतले बताउनुभयो । यता डिभिजन सडक कार्यालय दोलखाले वर्षात् समयलाई हेरी सडक पुनः सञ्चालन गर्न ठूला उपकरण ल्याएर कार्यालय परिसरमा राखिएको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]