संविधान लेखन कुनैपनि हालतमा नरोकिने सभामुख नेम्वाङको भनाई

सभामुख सुवास नेम्वाङले संविधान लेखन प्रक्रिया अगाडि बढिसकेको हुँदा अब बीचमा आउने अड्चनले यस कार्यलाई रोक्न नसक्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित ‘विनाशकारी भूकम्पपछिको पर्यटन क्षेत्रको उत्थान विकास एवम् प्रवद्र्धनमा गरिनुपर्ने सुधार उपाय’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलका नेताहरूले गरेको सुझबुझपूर्र्ण सहमतिले संविधान लेखनको सुनिश्चिता गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “अब संविधान लेखनका लागि सबै आधारहरू तयार भइसकेका छन् । दलहरूबीच सहमति जुटिसकेको छ । यस्तो अवस्थामा अब संविधान लेखन प्रक्रिया रोकिन्न । लामो समयपछि सार्वजनिक कार्यक्रममा भाग लिन शनिबार पोखरा आउनुभएका सभामुख नेम्वाङले प्रशन्न मुद्रामा संविधानका केही विवादित विषयमा सहमति गरेर राजनीतिक दलहरूले जनतामा नयाँ आशा जगाइदिएको उल्लेख गर्नुभयो । भूकम्पपछि राजनीतिक दलहरूबीच देखिएको अभूतपूर्व एकता र सहकार्यले मुलुकको पुनःनिर्माण तथा पुनःस्थापना र संविधान लेखनमा बल मिलेको सभामुख नेम्वाङको भनाइ थियो । अर्थमन्त्री डा रामशरण महतले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवद्र्धन गर्न नै यही असार १० गते ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्न लागिएको र यसमा अहिलेसम्म ४० देशका १११ जना विशिष्ट व्यक्तिले सहभागिता जनाउने निश्चित भइसकेको बताउनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो – “पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सहयोगी हातहरू धेरै आएका छन् । स्रोतको चिन्ता छैन । खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले पोखरामा क्षेत्रीय विमानस्थलको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । विकास समितिका सभापति रवीन्द्र अधिकारीले पर्यटन विकासको नयाँ खाका कोर्न पर्यटकीय राजधानी पोखरामा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । समितिका सदस्य यज्ञबहादुर थापाले पर्यटकीय राजधानी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढिरहेको जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च प्राथमिकताका साथ प्रसारप्रचार गरिरहेको बताउनुभयो भने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदीले स्थानीय विकास र पर्यटन विकासलाई सँगैसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । क्षेत्रीय प्रशासक दिनेश थपलियाले पर्यटकीय नगरी पोखरा भ्रमणका लागि सुरक्षित भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।