भूकम्प पीडितको निम्ति सहयोग जुटाउन अम्बरे शो

यतिबेला देश पुननिर्माणको चरणमा छ । विनासकारी भूकम्प कम भएको छ तर रोकिएको छैन । भूकम्पपछि अब बाढी र पहिरोको चिन्ताले धेरैलाई सताएको छ । यस्तो बेला सकेको सहयोग सबैले गर्नुपर्छ भन्ने भावनाका साथ सिड्नीमा सहयोग संकलनका लागि नेपाली फिल्मको च्यारिटी शो हुने भएको छ । नेपालमा कलाकारहरुले सञ्चालन ” हामी सबैका लागी – We For All “को सहकार्यमा संकलित रकम सम्बन्धित पीडितसम्म पुर्याउने कार्य गर्ने तयारी भइरहेको छ । चलचित्र श्री ५ अम्बरेमा पनि वी फर अल टिमकी सक्रिय सदस्य केकी अधिकारीको मुख्य अभिनय रहेको छ। कलाकारहरुले अहिलेसम्म भूकम्प पीडित विभिन्न जिल्लामा सैयौं घर बनाएर तत्कालका निम्ति बासको व्यवस्था गरिदिएका छन् । चलचित्र श्री ५ अम्बरेको च्यारिटी शो आगामी जुलाई ११ तारिखका दिन सिभिक थियटर हर्सटभिलमा हुन लागेको हो । एकै दिन दुईवटा शो राखिने र यसबाट प्राप्त भएको रकम नेपालमा भूकम्प पीडितहरुको निम्ति सहयोग गर्ने योजना रहेको आयोजकमध्येका एक धर्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “हामीले भूकम्प पीडितलाई विभिन्न माध्यमबाट सहयोग गरिसकेका हौं । तर, अझै पनि नेपालमा मनसुनले पीडितलाई दिने थप पीडाको कल्पनाबाट समेत हामी निकै चिन्तित बन्यौं । यसैले चलचित्र श्री ५ अम्बरेको च्यारिटी शो गर्ने योजना बनेको हो ।” आयोजक समूहकै सदस्य राम रुवालीका अनुसार “श्री ५ अम्बरेमा सडक बालबालिकाको कथा समेटिएको छ । भूकम्पले के धनी के गरिब सबैलाई सडकको बास गराइदियो । सडकमा पुगेर अझै पनि घर फर्किन नसकेका भूकम्प पीडितको सहयोगका लागि नै यो अभियान सञ्चालित छ”, रुवालीको भनाई छ । जुलाई ११ तारिखका दिन दिउँसो २ बजे पहिलो शो गर्ने र त्यसपछि ५ बजे अर्को शो त्यसै दिन आयोजना गर्ने तयारी भएको छ ।