ढिलोमा दुई महिनाभित्र संविधान – सहमहामन्त्री खड्का

नेपाली कांँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले राजनीतिक दर्शन र सिद्धान्त फरक भएका राजनीतिक दलबीच संविधान निर्माणका लागि भएको १६ बुँदे समझदारीको अपव्याख्या गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—‘यो ऐतिहासिक समझदारी हो, अब ढिलोमा दुई महिनाभित्र संविधान जारी हुन्छ ।’ यो समझदारीको विपक्षमा उभिएका ३० दलीय मोचाका प्रायः सबै दल सहमतिमा आइसकेका र बाँकी पाँचदल पनि चाँडै सहमतिमा आउने विश्वास व्यक्त गर्दै उहाँले अब अविश्वासको वातावरण सिर्जना गर्ने काम कसैबाट पनि गरिनु हुदँैन भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले बहुदलीय प्रतिस्पर्धामा आधारित सङ्घीय लोकतान्त्रिक संविधान जारी हुनेमा शङ्का नगर्न आग्रह गर्दै अब सार्वभौमसत्तासम्पन्न नेपाली जनताको शासन व्यवस्था स्थापित भएरै छाड्ने दाबी गर्नुभयो । एक अर्को प्रश्नको जवाफमा उहाँले नेपाली काँंग्रेसको महाधिवेशन असोज ४ गते तोकिएकै मितिमा हुने, तर अहिले सिङ्गो पार्टी पङ्क्तिको ध्यान भूकम्प प्रभावितको व्यवस्थापन र संविधान जारी गर्ने तर्पm केन्द्रित भएको छ भन्नुभयो ।