वैद्यको माग सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान

नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले भूकम्पबाट भएको क्षति र पीडित परिवारलाई उचित राहत तथा बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले राहत वितरणमा अनियमितता र भ्रष्टाचार समेत भएको भन्दै मोर्चाले स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलको सर्वदलीय संयन्त्र बनाई दीर्घकालीन रूपमा पुनः निर्माणको योजना बनाउन सुझाव दिएको छ । प्रमुख चार राजनीतिक शक्तिबीच मात्रै भएको १६ बुँदे सहमतिले सबैको भावनाअनुसारको संविधान नबन्ने भएकाले सर्वपक्षीय राजनीतिक सभा र सहमतिको संयुक्त राष्ट्रिय सरकारको गठनले मात्र मुलुकको राजनीतिक निकास दिने मोर्चाको ठहर छ । हालै भारत र चीनबीच भएको सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप भएको भन्दै मोर्चाले उक्त ठहर गरी त्यसको विरोध गर्ने तथा भारत र चीनलाई उक्त सम्झौता सच्याउन माग गरेको छ ।