तीन पार्टीबीच एकता, अध्यक्षमा यादव, वरिष्ठ नेतामा राई (पद बाँडफाँडसहित)


Samajbadiमधेसी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच एकता भएको छ । एक कार्यक्रममा तीनवटै पार्टीका अध्यक्ष उपेन्द्र यादव, अशोक राई र युवराज कार्कीले मसाल बालेर पार्टी एकता भएको घोषणा गर्नुभयो । एकीकृत पार्टीको नाम सङ्घीय समाजवादी फोरम नेपाल राखिएको छ भने पार्टी अध्यक्षमा उपेन्द्र यादवलाई चयन गरिएको छ । यस्तै पार्टीको वरिष्ठ नेता एवम् संसदीय दलको नेतामा राईलाई चयन गरिएको छ । यस्तै प्रमुख सचेतकमा फोरम नेपालकै शिवजी यादवलाई चयन गरिएको छ । यस्तै सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ रहनुभएको सो पार्टीको उपाध्यक्षमा भने लालबहादुर राउत, रेणुकुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की रहनुभएको छ । महासचिवमा रामसहायप्रसाद यादव र रणध्वज कन्दङगवा हुनुहुन्छ भने उपमहासचिवमा अभिषेकप्रसाद साह र दानबहादुर विके रहनुभएको छ । सचिवमा रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत तथा कोषाध्यक्षमा विजयकुमार यादव रहनुभएको छ । केन्द्रीय सल्लाहकार समिति सभापतिमा डा मङ्गलसिद्धी मानन्धर र केन्द्रीय निर्वाचन समिति सभापतिमा दुर्गाबहादुर देवानलाई चयन गरिएको छ । केन्द्रीय समितिमा भने दुई सय जना रहने एकता घोषणासभामा जानकारी दिइएको थियो । संविधानसभामा १० सिट फोरम नेपाल र पाँच सिट सङ्घीय समाजवादी पार्टीको रहेको छ । दुवै दलको एकतापछि संविधानसभामा सो पार्टीको हैसियत पाँचौ शक्तिको रूपमा रहने छ । सङ्घीयता र पहिचानको मुद्दालाई बलियो बनाउँदै वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता भएको नवघोािषत पार्टीका अध्यक्ष यादवले जानकारी दिनुभयो । यस्तै जातीय, क्षेत्रीय पहिचानका लागि चार वर्षअघि सङ्घीय समाजवादी पार्टी बनाउनुभएका राईले पार्टी एकता समयको आवश्यकता भएको बताउनुभयो । उहाँले तीन दलको एकताले वैकल्पिक राजनीतिक शक्ति स्थापना भएको र मुलुकको राजनीतिलाई अग्रगामी दिशामा लैजाने विश्वास व्यक्त गर्नुभयो । गैरसरकारी संस्थाको रूपमा स्थापित मधेसी जनअधिकार फोरम अघिल्लो संविधानसभामा चौँथो शक्तिका रूपमा उदाएको थियो । विभिन्न समयमा विभक्त भएको सो पार्टी दोस्रो संविधानसभामा भने १० सिटमा सीमित भएको थियो । यस्तै जातीय र क्षेत्रीय पहिचान स्थापित गर्ने उद्देश्यका साथ नेकपा(एमाले) छाडेर स्थापना गरिएको सङ्घीय समाजवादी पार्टी दोस्रो संविधानसभा निर्वाचनमा प्रभावकारी उपस्थिति देखाउन नसकेको टिप्पणी हुँदै आएको थियो । खस समावेशी पार्टी भने मूलधारको राजनीतिमा सामान्य चर्चामा मात्रै रहेको थियो । पहाड र तराई केन्द्रित दलहरूको एकताले राष्ट्रिय एकताको सन्देशसमेत दिएको घोषणासभामा जानकारी गराइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]